प्रस, वीरगंज, २७ माघ/
स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा हुने सरकारको निर्णयपछि पर्सा जिल्लामा जिल्ला सुरक्षा समितिले निर्वाचनसम्बन्धी तयारी शुरू गरेको छ।
यसै क्रममा बिहीवार प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालको नेतृत्वमा जिल्लाका विभिन्न मतदान केन्द्रहरूको अनुगमन र अवलोकन गरिएको छ। चौधवटै पालिकामा रहेका संवेदनशील मतदान केन्द्रहरूको आज अनुगमन तथा अवलोकन गरिएको हो।
जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख रञ्जीता झाले छिपहरमाई गाउँपालिकाका आठवटा मतदान केन्द्रको आज निरीक्षण भएको बताइन्। उनले अनुगमनको क्रममा मतदानस्थलको भौतिक अवस्था, बाटो, पर्खाल, शौचालय आदिका बारेमा टोलीले जानकारी लिएको बताइन्।
उनले यसअघि जिल्ला सुरक्षा समितिको टोलीले धोबिनी, जीराभवानी, कालिकामाई र विन्ध्यवासिनी गाउँपालिकामा रहेका मतदान केन्द्रहरूको अनुगमन गरेको बताइन्। अनुगमनको क्रममा गापाहरूमा थप मतदान केन्द्रको स्थापना गर्नुपर्ने झाले बताइन्।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, नेपाली सेनाका प्रमुख मनोज कार्की, राष्ट्रिय अनुसन्धानका उपनिर्देशकलगायतको सहभागिता थियो।