सोल, २६ माघ/सिन्ह्वा
दक्षिण कोरियामा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक धेरै हुँदै गएको हो ।
सरकारी अधिकारीहरूले बुधवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । देशभरि कुल ४९ हजार ५६७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको कोरिया रोग नियन्त्रण तथा न्यूनीकरण विभागले जनाएको छ ।
यससँगै कोरोना भाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ३१ हजार २३९ पुगेको छ । अघिल्लो दिन भने ३६ हजार ७१९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । अघिल्लो दिनभन्दा झन्डै १३ हजार बढी सङ्क्रमित भएको देखिएको छ । यसका आधारमा दैनिक सङ्क्रमितहरूको वृद्धिदर पनि अत्यधिक धेरै भएको छ ।
नयाँ सङ्क्रमितमध्ये ११ हजार ६३० जना राजधानी सोलका मात्रै रहेका छन् । कुल नयाँ सङ्क्रमितमध्ये २८५ जना गम्भीर अवस्थामा रहेका छन् । जबकि अघिल्लो दिन नयाँ सङ्क्रमितमध्ये १७ जना मात्रै गम्भीर अवस्थामा रहेका थिए ।
पछिल्लो एक दिनमा दक्षिण कोरियामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या छ हजार ९४३ पुगेको छ ।