प्रस, वीरगंज, २३ माघ/
कोरोना भयका बीच आइतवार सरस्वतीपूजा धूमधामका साथ मनाइएको छ ।वीरगंज महानगरपालिकामा कोरोनाविरुद्धको पहिलो खोप १२ वर्षमाथिका प्रायः विद्यार्थीले लिइसकेका कारण यस वर्ष सरस्वतीपूजा धूमधामले मनाइएको हो ।
बालबालिका, युवाहरूले हिजोदेखि नयाँ कपडा खरीद गर्ने, सरस्वतीको मूर्ति ल्याउने, सजाउने जस्ता कार्य सम्पन्न गरेका थिए भने आज बिहानैदेखि सरस्वतीपूजामा व्यस्त रहे । महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय, क्याम्पसहरूमा सरस्वतीपूजा गर्नका लागि ठूलो सङ्ख्यामा भीड लागेको थियो ।
२०७६ सालमा सरस्वतीपूजा कोरोनाको पहिलो लहर आउनुभन्दा पहिले सम्पन्न भएको थियो भने २०७७ सालमा कोरोनाको दोस्रो लहरका कारण सरस्वतीपूजा विद्यार्थीहरूको सहभागितविना सामान्यरूपमा मनाइएको थियो । बल्लतल्ल विद्यालय सञ्चालनमा आएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बाध्यकारी अवस्था तथा कोरोनाबाट सबैतर्फ सन्त्रास रहेकाले सावधानीपूर्वक सरस्वतीपूजा गरिएको थियो ।
तर यस वर्ष कोरोनाको तेस्रो लहरमा ओमिक्रोन भेरियन्ट सामान्यरूपमा मात्र देखिएकोले कोही पनि डराएका छैनन् । स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न अनिवार्य मास्क लगाउन र नलगाउनेलाई जरिवाना गर्ने भने पनि सो नगर्दा प्रशासनको भय पनि देखिएको छैन । प्रशासनले माघ महीनाभरि वैवाहिक कार्यक्रममा बन्देज गरे पनि वैवाहिक कार्यक्रमहरू प्रहरी प्रशासनको नाकमुनि भइरहेका छन् ।
शहरमा बैन्डबाजा, डिजेको प्रयोग गरी धूमधामका साथ वैवाहिक कार्यक्रमहरू भइरहेका छन् । त्यसैगरी, सभा समारोहहरू तथा राजनीतिक गतिविधिहरू भीडभाडका साथ भएकाले विद्यार्थीहरूले पनि कोरोनाका कुनै पनि मापदण्ड पूरा नगरी सरस्वतीपूजा धूमधामका साथ मनाएका हुन् । मास्कको प्रयोग विद्यार्थीहरूले नगण्य मात्रामा गरेका थिए । सामाजिक दूरीको त कुरै भएन, अचाक्ली भीडभाडका साथ सामुदायिक, संस्थागत विद्यालयहरू र क्याम्पसमा सरस्वतीपूजा सम्पन्न भएको थियो ।
सरस्वतीपूजाको दिन वीरगंज शहर दिनभर विद्यार्थीहरूको चहलपहलले व्यस्त रह्यो । चिल्ड्रेन पार्क, घडीअर्वा पोखरी र भिस्वा चैतन्य विहार जस्ता घुमफिर गर्ने स्थानहरू पनि विद्यार्थीहरूले भरिभराउ थिए ।
बलिराम शुक्ला, बिरुवागुठी/
पर्सागढी नगरपालिकामा सरस्वतीपूजाको चहलपहल खासै भएन ।
कोरोनाको कारण सामुदायिक विद्यालयहरू बन्द रहेका कारण पनि सरस्वतीपूजाको आकर्षण यहाँ देखा परेन ।
जनता मावि पकडिया बडनिहारका प्रधानाध्यापक मोहनप्रसाद चौधरीले विद्यालय बन्द रहेका कारण विद्यार्थीहरूलाई नबोलाएको र पूजा गरेर विधि मात्र पूरा गरिएको बताए । उनले स्वेच्छाले आएका विद्यार्थीहरूलाई भने रोकटोक नगरिएको र प्रसाद दिएर पठाएको बताए । विद्यार्थी बादल मुखियाले सरस्वतीपूजा परम्परागतरूपमा मनाउन नपाउँदा खल्लोपन महसूस भएको बताए । उनले विद्यार्थीहरूको भीडभाड हुने, सांस्कृतिक कार्यक्रमहरूले सरस्वतीपूजाको दिन विद्यालयको दिनचर्या नै भिन्न हुने गरेकोमा यस वर्ष यी सब नहुँदा खल्लो महसूस भएको बताए ।
ओमप्रकाश चौधरी, सेढवा/
जीराभवानी, जगरनाथपुर र पटेर्वासुगौलीमा पनि सरस्वतीपूजाको चहलपहल देखिएन । बिहानदेखि विद्यार्थीहरूको भीडभाड हुने, विभिन्न विद्यालयमा मूर्ति पूजन, सांस्कृतिक कार्यक्रमहरू हुने गरेकामा यस वर्ष विद्यालय बन्द भएका कारण त्यस्ता केही गतिविधि
भएनन् ।
सरस्वती माताको मूर्ति स्थापना भएका विद्यालयमा मूर्तिपूजन र मूर्ति नभएका विद्यालयमा तस्बिरपूजन गरी सरस्वतीपूजा मनाइएको थियो । प्रअ, शिक्षक र थोरै सङ्ख्यामा उपस्थित विद्यार्थीहरूबीच यस वर्षको सरस्वतीपूजा सम्पन्न भएको छ । यस वर्ष सरस्वतीपूजा दुई दिन मनाइयो । केहीले शनिवार मनाए भने केहीले आइतवार । आइतवार बिहान ६ बजेसम्म मात्र वसन्तपञ्चमीको साइत रहेको कारण केहीले शनिवार मनाएका थिए ।