मुम्बई, २३ माघ/एएफपी
प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।
यसै वर्षको जनवरीमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनी हप्तौंदेखि सघन उपचार कक्षमा थिइन् । उपचारका क्रममा नै आइतवार बिहान उनको निधन भएको हो ।
मङ्गेशकरको जन्म सन् १९२९ मा भएको थियो र उनले आफ्नो बुबा दीनानाथ मङ्गेशकरको तालीममा प्रारम्भिकरूपमा आफ्नो साङ्गीतिक यात्रा शुरू गरेकी थिइन् । लताले पाँच वर्षको उमेरबाट नै आफ्ना बुबाबाट साङ्गीतिक तालीम शुरू गरेकी थिइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको” बताएका छन् ।
मोदीले मङ्गेशकरका गीतले विभिन्न खाले भावना प्रवाह गरेको र उनले दशकौंसम्म भारतीय चलचित्रजगत्लाई नजीकबाट नियालेको बताएका छन् ।
लता १३ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । त्यसपछि चार साना भाइबहिनीको लालनपालनसमेतको भूमिका खेल्न बाध्य तुल्यायो र अन्ततः सन् १९४५ मा उनको परिवार मुम्बईमा बसाइँ सर्नुप¥यो ।
सन् १९६२ मा भारत–चीन युद्धमा मारिएका सैनिकलाई देशभक्तिपूर्ण श्रद्धाञ्जलि गाउन सन् १९६३ जनवरीमा भारतको गणतन्त्र दिवस समारोहमा सरकारद्वारा उनलाई निमन्त्रण गरिएको थियो । उनले “ओ दी पिपल अफ माई कन्ट्री”को प्रस्तुतिले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले आँसु झारेका थिए ।
उनले भक्ति र शास्त्रीय एल्बम रेकर्ड गर्नुका साथै एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन् । आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा २७ हजारभन्दा बढी गीत गाएकी छन् ।
सन् २००१ मा उनले भारतमा नागरिकले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गरेकी थिइन् । सन् २००४ मा उनको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले “मैले उहाँको आवाजमा भगवान्को आशीर्वाद देखें” भनेर लेखेका थिए । लताले विवाह भने गरिनन् । उनकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुन् । लताले नेपाली भाषामा पनि गीत गाएकी छन् । रासस