प्रस, वीरगंज, २२ माघ/
प्रेस चौतारी नेपालको २४औं स्थापना दिवस शनिवार कार्यक्रमको आयोजना गरी मनाइएको
छ ।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाकक्षमा आयोजित स्थापना दिवसको उद्घाटन चौतारीका केन्द्रीय उपाध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य लालबाबू शेखले गरेका थिए । उनले चौतारीलाई साङ्गठनिकरूपमा मजबूत गरेर अगाडि बढ्न सुझाएका थिए ।
नेकपा एमाले प्रचार तथा प्रसारण विभागका सदस्य महेश दासले प्रेस चौतारी देशभरि मजबूत बन्दै गएको बताए । उनले आफूले सो संस्थाको जिम्मेवारी वहन गरेका कारण पार्टीको जिम्मेवारीमा पुगेको भन्दै आफ्नो तहबाट सक्दो सहयोग गर्ने बताए ।
शाखा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य शत्रुघ्न नेपाल, केसी लामिछाने, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शेखले एमाले प्रचार तथा प्रसारण विभागका सदस्य मनोनीत भएका दासलाई दोसल्ला, फूलमाला, अबिर लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा शाखा उपाध्यक्ष तुलसी भण्डारीले स्वागत र सचिव राजेन्द्र सिंह राजपूतले सहजीकरण गरेका थिए ।
प्रस, परवानीपुर/
प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला शाखा बाराले शनिवार कलैयास्थित अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । चौतारीको २४औं स्थापना दिवसको अवसरमा कलैया उपमहानगरस्थित अमृता अनाथ आश्रममा चामल, दाल, नून, तेल, बिस्कुट, चाउचाउ, हर्लिक्स, माक्स, तरकारीलगायतका खाद्यान्न सामग्री वितरण गरिएको थियो ।
प्रेस चौतारी नेपाल बाराका जिल्ला अध्यक्ष दिवाकर भण्डारी र नेकपा एमाले बाराका अध्यक्ष विनोद साहले खाद्यान्न सामग्री आश्रमकी सञ्चालक फूलमतीदेवी बस्नेतलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष साहले पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्दै आएका पत्रकारहरूको सङ्गठनले गरेको सामाजिक क्रियाकलापलाई सबैले अनुसरण गर्नुपर्ने सुझाए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमल उपाध्याय, राष्ट्रिय युवा सङ्घ नेपाल बाराका अध्यक्ष पुरुषोत्तम साह, नेपाल पत्रकार महासङ्घ बाराका सचिव अनिल गौरवले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा आश्रमकी सञ्चालिका बस्नेतले समाचार लेख्ने पत्रकारले अनाथ बालबालिकालाई सम्झेर आश्रमसम्म आएकोमा खुशी व्यक्त गरिन् । कार्यक्रमबारे चौतारी बाराका उपाध्यक्ष राधेश्याम पटेलले प्रकाश पारेका थिए ।
कार्यक्रमको सहजीकरण सचिव अनिल तिवारीले गरेका थिए ।