हुम्ला, २२ माघ/रासस
बिहीवारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।
सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ । यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका बासिन्दा प्रशान्त लामाले जानकारी दिए ।
उनका अनुसार हिमपातले मुचुका खोलामा पानी जमेर बहाव कम भएको छ । सबैतिरको पानी जमेर पूरै ठोस भएको उनले बताए । उनले भने, “जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन, चीसोले खानेपानीका धारा जमेका छन् ।”
अत्यधिक चीसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँहरूसमेत यहाँ सुनसान छन् । निरन्तररूपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
हिमपातले जुम्लाको विद्युत् सेवा अवरूद्ध
जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीवार रातिदेखि भारी हिमपात भएको छ । सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिमपातले विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ ।
हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत् अवरुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासी कर्ण बूढाले बताए । विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक पछिल्लो समय थपिएका छन् । विद्युत् अवरुद्ध भएपछि खलङ्गाका झन्डै तीन हजार ५०० ग्राहक प्रभावित भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत्का खम्बा र तारमा क्षति पुगेको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।
मौसम सफा भएपछि कुन ठाउँमा विद्युत् क्षति पुगेको छ, सोही ठाउँमा कर्मचारी खटाएर विद्युत् सञ्चालन गर्न लागिपरेको कार्यालय प्रमुख रावलले बताए । हिमपातका कारण जुम्ला जिल्ला पूरै हिउँले सेताम्य भएको छ । हिउँले विद्यालयको पठनपाठन रोकिएको छ । हवाई तथा सडक यातायात पूर्णरूपमा ठप्प हुँदा यात्रुलाई सास्ती भएको छ ।
कर्णाली राजमार्गमा जमेको हिउँ पन्छाउन थालियो
कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको छ । कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झन्डै एक फिट हिउँ जमेको छ ।
हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन् ।
आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको सहायक प्रजिअ प्रमिला रिजालले बताइन् । सडक खुलाउनका लागि सदरमुकाम खलङ्गाबाट दुई डोजर प्रयोग भएका छन् । सडक डिभिजनलाई सडक खुलाएर सञ्चालन गर्न निर्देशन दिइएको प्रजिअ प्रसार्इंले बताइन् । हिमपातका कारण कर्णालीको सडक मार्ग खुलेको छैन । भारी हिमपातका कारण जुम्लाको हवाई सेवा प्रभावित बनेको छ ।