प्रस, वीरगंज, २१ माघ/
स्थानीय तह कर्मचारी सङ्घ नेपाल, वीरगंज महानगर एकाइले पन्ध्र सूत्रीय माग राखी प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षणपत्र बुझाएको छ । सङ्घका अध्यक्ष मुकेश गुप्ताले शुक्रवार प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै माग सात दिनभित्र सम्बोधन गर्न आग्रह गरेका थिए ।
उनले वीरगंज महानगरका कर्मचारीहरूको व्यवस्थापन एवं समायोजन तत्काल कार्यान्वयन गर्नुपर्ने, श्रेणीविहीन कर्मचारी, शैक्षिक योग्यता पुगेकाहरूको सहायकस्तर चौथो खरिदार पद र करार सेवामा सहायकस्तरदेखि अधिकृतस्तरसम्ममा कार्यरत कर्मचारीहरूको स्थायित्वको व्यवस्थापन हालसम्म नभएको र दिनानुदिन नयाँ कर्मचारी नियुक्त तथा सङ्घीय सरकारमा कार्यरत विभिन्न पदका कर्मचारीहरूलाई सङ्घको सहमतिविना हाजिर गराइ आर्थिक भार थप्ने काम भइरहेकाले सो नगर्न आग्रह गरिएको छ ।
यसैगरी, कर्मचारीको मानमर्दन हुने, होच्याउने, खटनपटन र सरुवा गर्ने प्रवृत्ति हाबी भइरहेकाले सोको निराकरणको लागि पनि ध्यानाकर्षणपत्रमा माग गरिएको छ । यसका अतिरिक्त नगरसभाबाट पारित पन्ध्र प्रतिशत भत्ता उपलब्ध गराउनुपर्ने, सेवानिवृत्त हुँदा दिइने उपदानमा वृद्धि गर्नुपर्नेलगायतका मागहरू छन् ।