नयाँ दिल्ली, २१ माघ/एएनआई
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रवार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरू भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख नाघेको सो मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ पुगेको छ । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने सबैभन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेको जनाइएको छ ।
महाराष्ट्रमा कोरोना सङ्क्रमणको कारण एक लाख ४२ हजार ८५९ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि केरलामा ५६ हजार ७०१, कर्नाटकमा ३९ हजार १९७, तमिलनाडूमा ३७ हजार ६६६, दिल्लीमा २५ हजार ९३२ र उत्तर प्रदेशमा २३ हजार २७७ जनाको कोरोनाका कारण ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।
हाल भारतमा कोभिड–१९ कुल सङ्क्रमितको सङ्ख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ । तीमध्ये हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४ लाख ३५ हजार ५६९ रहेका छन् । कुल सङ्क्रमितको ३.४२ प्रतिशत सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
गएको २४ घण्टामा भारतमा दुर्ई लाख ४६ हजार ६७४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरू भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.३९ प्रतिशत रहेको जनाइएको छ ।
कोरोना शुरू भएदेखि हालसम्म यहाँ ७३ करोड ५८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६८ करोड ४७ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ ।