प्रस, निजगढ, २० माघ/

डा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्ताहरूलाई बिहीवार दिउँसो प्रहरीले पथलैयामा नियन्त्रणमा लिएको छ ।

पार्टीको आह्वानमा किसान आन्दोलन अन्तर्गत राजमार्गको पथलैयामा सडकमा प्रदर्शन गर्दै बन्द गर्न थालेपछि बिहानैदेखि खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई पथलैया प्रहरी चौकी परिसरमा राखेका थिए ।

आन्दोलनकारीहरूले प्रहरी दमन बन्द गर, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए । जनमत पार्टी, बाराका अध्यक्ष विनोद यादव नेतृत्वका करीब ५०/६० जना आन्दोलनकारीले किसानहरूलाई समयमा नै मलखाद उपलब्ध गराउनुपर्ने, सिंचाइ सुविधा हुनुपर्ने, निश्शुल्क विद्युत् उपलब्ध हुनुपर्ने, किसान कार्ड, किसान स्वास्थ्य बीमा, कृषि बीमा हुनुपर्ने, उखु किसानहरूको समयमैं भुक्तानी गर्नुपर्नेलगायतका माग पूरा गर्न सरकारले चासो नदिएको भन्दै कडा विरोध जनाउँदै आइरहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिई पथलैया प्रहरी चौकीको गोलघरमा राखिएका आन्दोलनकारी र महिला प्रहरीबीच केही घम्साघम्सीसमेत भएको थियो ।

महिला आन्दोलनकारीले महिला प्रहरीलाई गालीगलौज गरेको भन्दै केहीबेर विवाद भएको
थियो । आफूहरूले शान्तिपूर्वक सडकमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी कानूनी राज्यको खिल्ली उडाएको, प्रहरीले कार्यकर्ताहरूमाथि लाठी चार्ज गरेको सो पार्टीको महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष अनीता रौनियारले बताइन् ।

यता राजमार्ग वा सडकमा कुनै पनि नाउँमा प्रदर्शन गरे, बन्द गरे उक्त कार्यहरू रोक्न, हटाउन गृह मन्त्रालयको निर्देशन मुताबिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here