प्रस, वीरगंज, २० माघ/
नेपाल निजामती कर्मचारी सङ्गठन, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्सामा एक घण्टा धर्ना दिएको छ । सङ्गठनका अध्यक्ष अमित गिरीसहित प्राण मेहता, सन्देश यादव, राज कुशवाहालगायतले जिल्ला प्रशासन कार्यालयअगाडि बिहान साढे १० देखि साढे ११ बजेसम्म धर्ना दिएका थिए ।
सङ्गठनका अध्यक्ष गिरीले बिहीवार एक घण्टा, शुक्रवार दुई घण्टा धर्ना दिने र सो अवधिमा पनि धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेललाई कुटपिट गर्ने वडासदस्य शान्तिदेवीका पति धर्मराउत कुर्मीसहितका मानिसहरूलाई पक्राउ गरी कानूनी कारबाई नगरिएमा आइतवार माघ २३ गतेदेखि पर्सा जिल्लाका सम्पूर्ण कार्यालयको कामकाज ठप्प गरी आन्दोलन गर्ने बताए ।
उनले यसअघि जिल्ला प्रशासन कार्यालय, पर्साका प्रजिअ उमेशकुमार ढकाललाई सङ्गठनको तर्फबाट चौबीस घण्टे ज्ञापनपत्र बुझाएको तर सो अवधिमा दोषीमाथि कारबाई नभएकोले बिहीवारदेखि धर्ना दिएर सचेत गराउन खोजिएको बताए । उनले अविलम्ब योजना शाखा प्रमुख पटेलमाथि हातपात गर्ने कुर्मीलगायतलाई पक्राउ गरी कारबाई गर्न आग्रह गरेका छन् ।
यही माघ १३ गते गापाले मोटर खरीद गरी वडा कार्यालयमा वितरणको लागि पठाउँदा वडासदस्यका पति कुर्मीले आफूले भनेको ठेकेदारलाई कोटेशनबाट काम नदिएको भन्दै योजना शाखा प्रमुख पटेललाई कुटपिट गरी दुई घण्टा थुनेर दुव्र्यवहार गरेका थिए ।