प्रस, सिराहा, ७ असोज/
सिराहा कारागारका कैदी, बन्दीहरूका लागि सामाजिक संस्था ‘मुक्ति नेपाल’ले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। ४१औं सामाजिक सेवा दिवसको अवसरमा सो संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।
संस्थाका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, सेनिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तरण गरेका छन्। ५९९ जना कैदीबन्दी रहेको सिराहा कारागारमा ५०७ जना कैदीबन्दीमा एकैपटक सङ्क्रमण पुष्टि भएको छ। अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि हाल कारागारलाई नै आइसोलेशनमा परिणत गरिएको छ। कारागार आइसोलेशनमा स्वास्थ्य सामग्री तथा अन्य मानवीय सहयोगको समेत खाँचो देखिएकोले आफ्नो संस्थाले थोरै सहयोग गरेको मुक्ति नेपालका अध्यक्ष साहले बताए।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको आतिथ्यमा भएको थियो। अधिकांश कैदीबन्दीमा एकैपटक कोरोना सङ्क्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोले बताएकी छन्।
१२५ जना मात्रै कैदीबन्दीको क्षमता रहेको कारागारमा अत्यधिक चापका साथ कैदीबन्दी राख्नुपरेकोले पनि सङ्क्रमणको जोखिम बढेको उनको भनाइ छ।
एकैपटक ठूलो सङ्ख्यामा कैदीबन्दीमा सङ्क्रमण देखिए पनि आइसोलेशन सञ्चालनमा आवश्यक पर्ने सामग्री सरकारबाट प्राप्त नभएको र अब के गर्ने भन्नेबारे निर्देशन पनि नआएकोले कारागार आइसोलेशनको अवस्था दयनीय बन्दै गएको कारागार प्रमुख महतोले बताएकी छन्। “सङ्क्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको छ,” उनले कार्यक्रममा गुनासो पोखिन्।