काठमाडौं, १८ माघ/रासस

नेपाली राष्ट्रिय फूटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा १० जना खेलाडीमा सीमित नेपालले नौजना खेलाडीमा समेटिएको मरिससलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको दशौं मिनेटमा गोल गरेका
थिए । आशिष लामाले प्रहार गरेको बललाई पेनाल्टी क्षेत्रभित्र रहेका पूजन उपरकोटीले उपलब्ध गराएपछि श्रेष्ठले गोलमा परिणत गरेका थिए ।

पहिलोपटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिकरूपमा खेल खेलेको नेपाल दुवै मैत्रीपूर्ण खेलमा जीत हात पार्न सफल भयो । यसअघि शनिवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलअन्तरले नै पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका थिए ।

मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार बेहोरेको हो । खेलको १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका गोलकीपर किरण चेम्जोङले बचाए । नेपालका दिनेश राजवंशीले मरिससका लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो । त्यसबाहेक दुवै टोलीले खेलका विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यसैगरी, खेलको ७०औं मिनेटमा मरिसस र नेपाल १० जना खेलाडीमा समेटिए । एकअर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले रातो कार्ड पाएका थिए । यता नेपालका पूजन उपरकोटीलाई रेफ्री नवीन्द्र महर्जनले रातो कार्ड देखाएका थिए । खेलको ७८औं मिनेटमा मरिसस नौजना खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here