नितेश कर्ण, वीरगंज, १६ माघ/
पर्सा जिल्लामा कोरोनाविरुद्धको खोप ६० प्रतिशतले लगाएका छन् । स्वास्थ्य कार्यालय, पर्साका निमित्त स्वास्थ्य प्रमुख नवलकिशोर साहले उपलब्ध तथ्याङ्क अनुसार ५३.४ प्रतिशतले खोप लगाएको देखिए पनि थप तथ्याङ्क आउन बाँकी रहेको र ती तथ्याङ्कको पनि गणना गर्दा अनुमानित ६० प्रतिशतले कोरोनाविरुद्ध खोप लगाइसकेको बताए ।
निमित्त प्रमुख साहले अहिले पनि कोरोनाविरुद्धको खोप विभिन्न स्थानमा जारी रहेको बताए । कोभिशिल्ड, भेरोसिल खोप दिने कार्य जारी रहेको उनले बताए । पर्सा जिल्लामा १८ वर्षमाथिका चार लाख ४५ हजार ३६५ जनालाई खोप लगाउने लक्ष्य रहेकामा अहिलेसम्म पहिलो मात्राको ६८.५६ प्रतिशतले खोप लगाएको र दोस्रो मात्राको खोप करीब ६० प्रतिशतले लगाएको उनले बताए ।
कोभिशिल्डको पहिलो मात्राको खोप ३७ हजार ८१३ जना, भेरोसिल दुई लाख चार हजार ६५६ जना, जोन्सन ३६ हजार २६३ जना र अस्ट्राजेनिका २६ हजार ६२७ जना गरी तीन लाख पाँच हजार ३५९ जनाले खोप लगाइसकेका छन् ।
दोस्रो मात्राको खोप कोभिशिल्ड ३४ हजार ४६४, भेरोसिल १ लाख ४३ हजार २९२ र अस्ट्राजेनिका २८ हजार ९८२ जनाले गरी कुल एक लाख ९९ हजार ७४१ जनाले लगाएको
बताए । १२ वर्षमाथि र १७ वर्षमुनिका २५५३ जनाले फाइजरको पहिलो मात्राको खोप लिएको, दोस्रो मात्राको खोप २१३७ जना र १८ वर्षमाथिकालाई पहिलो मात्राको मोडर्ना खोप २५ हजार ४६३ जनालाई दिइएको निमित्त प्रमुख साहले बताए । उनले वीरगंज महानगर, पकाहामैनपुर, कालिकामाई, पोखरियामा फाइजर खोप पहिलो र दोस्रो चरणमा करीब २८ हजारभन्दा बढी विद्यार्थीलाई लगाइएको बताए ।
निमित्त प्रमुख साहले चैत मसान्तसम्म पर्सा जिल्लाका सबैलाई खोप लगाइसक्ने उद्देश्यअनुरूप कार्य भइरहेको बताए ।