प्रस, मकवानपुर, ७ असोज/
काठमाडौं–हेटौंडा छोटो मार्ग सडकखण्डमा पहिरोले स्कार्पियो पुरिंदा एकजनाको मृत्यु भएको छ। भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा बुधवार बिहान पहिरोले स्कार्पियो पुरिएको हो।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.१७प ४८७४ नं को स्कार्पियो पुरिंदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अविरल वर्षाका कारण पहाड भत्किएर पहिरो खसेको हो। साँझसम्म मृतक चालकको सनाखत भएको छैन।
सोही पहिरोमा परी मोटरसाइकल चालकसहित दुईजना घाइते भएका छन्। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.९७प ४८५१ नं को मोरटरसाइकलमा सवार दुईजना घाइते भएका हुन्। मोटरसाइकलमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। पहिरोले मोटरसाइकल पुरिंदा त्यसमा सवार दुवैजना सामान्य घाइते भएका र उनीहरूको सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको इप्रका भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए।
सडकको माथिल्लो भागबाट चट्टान र माटो मिश्रित पहिरो गुडिरहेको जीपमाथि खसेको प्रनि श्रेष्ठले बताएका छन्।