प्रस, परवानीपुर, १६ माघ/
पर्सा राष्ट्रिय निकुञ्जमा भइरहेको बाघ गणनाको नतीजा एक महीनापछि अर्थात् आगामी मार्चको पहिलो सातामा आउने भएको छ ।
निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत मनोज भगतका अनुसार बाघ गणनाको लागि फिल्डमा क्यामरा राखिने, त्यसपछि नतीजा विश्लेषण गर्न समय लाग्ने भएकोले फेब्रुअरीसम्म बाघ गणनाको काम जारी रहनेछ । सन् २०१८ मा भएको बाघ गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ रहेको तथ्याङ्क छ ।
बाघ बढ्ने कि घट्ने विषयमा उनले अहिले केही भन्न उपयुक्त नहुने चर्चा गर्दै तर बाघको पदचिह्न निकुञ्जमा देखिएकाले सङ्ख्या बढ्न सक्ने सम्भावना कर्मचारीहरूको छ । गत माघ ४ गतेदेखि देशभरिका तराईमा रहेका पाँचवटा राष्ट्रिय निकुञ्जमा बाघको गणना शुरू भएको
थियो ।
पछिल्लो १२ दिनमा पर्सा राष्ट्रिय निकुञ्जको सेवा क्षेत्र पर्सा, बारा, मकवानपुरको ६२८ वर्ग किलोमिटर र निकुञ्जले छोएको वरपरका क्षेत्र जस्तै चितवन राष्ट्रिय निकुञ्जको सीमा, रौतहटको जङ्गल, डिभिजन वन कार्यालय, पर्सा, बाराका क्षेत्रलगायत ३२१ वटा ठाउँमा ३२१ जोडी क्यामरा जडान गर्ने काम भइसकेको र बाघ गणनाको काम अगाडि बढिसकेको बताइएको छ । ३२१ जोडी क्यामरामा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको तीन जोडी र डिभिजन वन कार्यालय,पर्साको दुई जोडी गरी पाँच जोडी क्यामरा हराएको उनले बताए ।
काठ तस्कर तथा वन्यजन्तुहरूको चोरी शिकारी गर्ने उद्देश्यले ती क्यामराहरू चोरी भएको हुन सक्ने र त्यसबारे सम्बन्धित निकायले अनुसन्धान थालेको उनले बताए । नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज र एउटा आरक्ष रहेकामा अहिले बाघ गणना शुक्ला फाँटा, बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा मात्र भइरहेको छ ।
बाघ गणनाको अन्त्यमा नेपालमा बाघको सङ्ख्या बढ्ने वन्यजन्तु संरक्षणविद्हरूले अनुमान गरेका छन् । नेपालभरिका राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्क अनुसार २३५ वटा बाघ रहेका छन् ।