लन्डन, १६ माघ/सिन्हवा

संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढिरहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरूले चिन्ताजनक पनि भनेका छन् । प्राप्त पछिल्लो समाचार अनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधवार मात्र यहाँ २४ घण्टामा कोभिडबाट दुई हजारभन्दा बढीको ज्यान गएको छ ।

बुधवारको पछिल्लो तथ्याङ्क अनुसार यहाँ एकै दिन कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो सङ्क्रमण दरमा करीब १३ प्रतिशतले कमी आएको देखिएको छ ।

यहाँ दैनिक ६ लाखभन्दा बढी नै सङ्क्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने सङ्क्रमण दर पनि धेरै रहेको पाइएको छ ।

यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजारभन्दा बढीको ज्यान गएको छ । विश्वका अरू देशको तुलनामा यो सबैभन्दा बढी हो ।

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित
नयाँ दिल्ली/एएनआई

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ ।

सोही अवधिमा कोरोना सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतवार जनाएको छ । अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूका अनुसार भारतमा शनिवार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ४.५९ प्रतिशत भएको जनाइएको छ । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त सङ्ख्या धेरै भएकोले पनि अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो ।

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या एक लाखभन्दा बढी छ ।

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको
थियो । भारतमा सन् २०२१, जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाखभन्दा बढी डोज खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here