काठमाडौं, १६ माघ/रासस

प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् ।

शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी शहीदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताए ।

शहीदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि शहीदकै कारण सम्भव भएको धारणा राखे । शहीदले परिकल्पना गरे अनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पार्दै सच्चा शहीदको अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले भने–“मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।” सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शहीदको योगदानले नै देशमा प्रजातन्त्र स्थापना सम्भव भएको धारणा राखे । महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्य सचिव शङ्करदास बैरागीलगायत अन्य केही सीमित उच्चपदस्थ अधिकारी मात्र उपस्थित थिए ।

कोरोना महामारीका कारण यस वर्ष प्रभातफेरी कार्यक्रम गरिएन । लैनचौरको शहीद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम गरेर शहीद सप्ताह समापन गरियो । शहीद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । काठमाडौंको टेकु पचलीस्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका थिए ।

शहीद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाको सालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा सीमित पदाधिकारी उपस्थित भएर पुष्पगुच्छा अर्पण गरी मनाइयो । कामपाले हरेक वर्ष माघ १० देखि १६ सम्मलाई विभिन्न कार्यक्रम गरी शहीद सप्ताह कार्यक्रम मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here