कास्की, १५ माघ/रासस
आहा–राराको दुई दशकको इतिहासमा छपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी फूटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फूटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ ।
यही माघ ६ गतेदेखि सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको २०औं संस्करणको प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा एपिएफले मनाङलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै इतिहास रच्न सफल भएको हो ।
आहा–रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको एपिएफले च्याम्पियन बन्दै रु १० लाख एक हजार पुरस्कार र ट्रफी हात पार्न सफल हुँदा मनाङले रु पाँच लाख एक हजारमा चित्त बुझाउन बाध्य बन्यो । हालसम्म उपाधि जित्न नसकेको विभागीय टोली एपिएफले उपाधि उचालेसँगै आहा–राराले नयाँ च्याम्पियन पाएको छ ।
खेलको निर्धारित र अतिरिक्त ३० मिनेटको खेल दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएकामा एपिएफ टाइब्रेकरमा भाग्यमानी भयो । एपिएफको जीतमा गोलकीपर युया कोरियामा नायक बने । टाइब्रेकरमा मनाड्ढा ओलावाले अफिजको प्रहारलाई रोक्दै कोरियामाले एपिएफलाई पहिलोपटक च्याम्पियन बनाउँदै ऐतिहासिक सफलता दिलाए ।
टाइब्रेकरमा एपिएफका नवीन लामा, सनीष श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड बिडोमले गोल गर्न सफल भए । मनाड्ढा फ्रेङलिन, दयानन्द सिंह, शिव गुरुङ र रूपेश केसीले मात्र गोल गरे । खेलको २१औं मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा खेलको ६७औं मिनेटमा दयानन्द सिंहको गोलमार्फत खेल बराबरीमा ल्याउन सफल भयो ।
खेलको ८४औं मिनेटमा फ्रेङलिनको गोलमार्फत मनाङले अग्रता बनाएर विजय नजीक पुगेको अवस्थामा पाँच मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लैजान सफल भए । अतिरिक्त समयमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेको थिएन ।
‘क्याराभान गोल्डकप’सहित १२औं पटक फाइनल खेलेको मनाङलाई दुईपटक मात्र फाइनलमा पुगेको एपिएफले स्तब्ध बनाउँदै उपाधि जित्न सफल भएको हो । एपिएफ १४ वर्षपछि दोस्रोपटक फाइनलमा पुगेको हो । विसं २०६४ मा छैटौं संस्करणमा पहिलोपटक फाइनलमा पुगेको एपिएफ नेपाल पुलिस क्लबसँग २–० गोलअन्तरले पराजित भएको थियो ।
मनाङले भने विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौं, विसं २०७२ मा चौधौं, विसं २०७३ को पन्ध्रौं र विसं २०७६ को १८औं संस्करणको उपाधि जितेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि एपिएफका डिफेन्डर राजन गुरुङले प्राप्त गरे । उनले पुरस्कारबापत एक थान स्कूटर पाए ।
यसैगरी, उत्कृष्ट गोलकीपर एपिएफका युया कोरियामा, मिडफिल्डर एपिएफकै रवि थिङ, फरवार्ड मनाड्ढा ओलावाले अफिज, उत्कृष्ट प्रशिक्षक एपिएफका कुमार थापा, सर्वाधिक गोलकर्ता एपिएफका रवि थिङ घोषित हुँदै जनही रु २५ हजारका दरले पुरस्कार पाए । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका आठ क्लब, विदेशी एक र आयोजक सहारा गरी १० टोलीले सहभागिता जनाएका थिए ।