नितेश कर्ण, वीरगंज, १४ माघ/

वीरगंज महानगरपालिकामा सार्वजनिक शौचालयको अभाव देखिएको छ । ३२ वटा वडामा १७ वटा मात्र सार्वजनिक शौचालय छन् र त्यसमध्ये पनि धेरै सञ्चालनमा छैनन् ।

वीरगंज महानगरपालिकामा सबैभन्दा बढी भीड हुने सरकारी कार्यालयहरूमा पनि शौचालयको अभाव छ । जिल्ला प्रशासन कार्यालय, अदालत, मालपोत, नापी, भूमिसुधार, यातायात व्यवस्था, भन्सारजस्ता कार्यालयहरूमा पनि व्यवस्थितरूपमा शौचालय सञ्चालनमा छैनन् । शौचालय भएका ठाउँमा पनि व्यवस्थित र महिलामैत्री शौचालयको झनै अभाव छ ।

वीरगंज महानगरको घण्टाघरमा सश्शुल्क सार्वजनिक शौचालय छ र यो मात्रै व्यवस्थितरूपमा सञ्चालित छ । बाँकी सार्वजनिक शौचालयको अवस्था एकदमै नाजुक छ । शौचालयको अभावमा सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूको दुर्दशा हेर्नलायक हुन्छ । दुई वर्षअगाडि वीरगंज महानगर खुला दिसामुक्त क्षेत्र घोषणा भएपनि सार्वजनिक शौचालयको अभावमा यो अभियान प्रभावकारी देखिएको छैन । मानिसहरू नाला, पर्खाल, खुला ठाउँमा पिसाब गर्न बाध्य छन् ।

महानगरले खुला दिसामुक्त क्षेत्र घोषणा गरेसँगै घुम्ती शौचालयको पनि व्यवस्था गरेको थियो तर अहिले घुम्ती शौचालय सञ्चालनमा छैन । महानगरपालिका कार्यालयअगाडि बनाइएको सार्वजनिक शौचालय पनि सरसफाइको अभावमा अहिले बन्द छ । महानगरपालिका कार्यालयमा रहेको सार्वजनिक शौचालयको यो हबिगत छ भने अन्य शौचालयको हबिगत सहजै अनुमान गर्न सकिन्छ ।

पूर्वसांसद विमल केडियाले नेशनल टे«डिङ र जिल्ला समन्वय समितिअगाडि निर्माण गरेको सार्वजनिक शौचालय सरसफाइ अभावमा सञ्चालनमा छैनन् । व्यवस्थित वीरगंज अभियान अन्तर्गत दुई वर्षअगाडि सो शौचालयको सरसफाइ गरिएको थियो । त्यसपछि सरसफाइ अभावमा सञ्चालनमा छैन ।

बनेको शौचालय पनि प्रयोगविहीन

वीरगंज महानगरपालिका–३ मालपोत सडकमा दुईवटा सार्वजनिक शौचालय छन् तर ती निर्माण भएदेखि अहिलेसम्म प्रयोगविहीन छन् । हाल पार्किङस्थल रहेको र पुरानो धर्मशालामा रहेको सार्वजनिक शौचालय निर्माण भएदेखि अहिलेसम्म प्रयोगमा ल्याइएको छैन । मालपोतमा सेवाग्राहीहरूको भीड हुने र त्यहाँ रहेको शौचालय पर्याप्त नहुँदा सेवाग्राहीहरू यत्रतत्र गएर पिसाब गर्नुपर्ने बाध्यता छ । सरसफाइको अभावमा निर्मित शौचालय प्रयोगमा नल्याइएको वडा कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here