कास्की, ११ माघ/रासस

बीसौं संस्करणको आहा–रारा गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा थ्रीस्टार क्लब नेपाली सेनाको त्रिभुवन आर्मी फूटबल क्लबसँग पराजित भएको छ । पाँचपटकको विजेता थ्रीस्टार आर्मीसँग निरीह साबित भयो ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले थ्रीस्टारमाथि १–० गोलको जीत हासिल गरेको हो । आहा–राराको इतिहासमा हालसम्म उपाधि जित्न नसकेको आर्मीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आर्मीका लागि खेलको ६४औं मिनेटमा टङ्क बस्नेतको स्थानमा वैकिल्पक खेलाडीका रूपमा मैदान प्रवेश गरेका राजीव गुरुङले निर्णायक गोल गरेका थिए । खेलको ७०औं मिनेटमा मैदानको मध्यभागमा थ्रीस्टारका रक्षापङ्Íिका खेलाडी बल रोक्ने क्रममा चिप्लिएर लड्न पुगेपछि गुरुङले बल अगाडि बढाउँदै गोलकीपरअगाडि आएको मौकामा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको बलले सीधैं जाली चुमेको
थियो । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

खेलपछि पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक राजु तामाङले बलियो टोली थ्रीस्टारसँग जीत हासिल गर्न सकेकोमा खुशी व्यक्त गरे । लिग खेल्ने टोलीका पाँच खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले समेत टीम सेट हुन र फिनिसिङमा समस्या भएको उनले बताए । तामाङले मनाङसँगको सेमिफाइनल खेलमा फिनिसिङमा सुधार ल्याउने योजना सुनाए ।

थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले राम्रो खेल्दा पनि रक्षापङ्Íिका खेलाडी मैदानमा लड्न पुग्दा विपक्षी टोलीले गोल गर्न सकेको बताए । टोलीका केही खेलाडी घाइते भएकाले समेत आशातीत प्रदर्शन सम्भव नभएको उनको भनाइ थियो । प्रतियोगिता अन्तर्गत बुधवार शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फूटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फूटबल क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।

रङ्गशालामा दर्शक राखिने

सहारा क्लब पोखराले बुधवारदेखि शुरू हुने सेमिफाइनलका खेलमा रङ्गशालामा दर्शकलाई प्रवेश दिने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण सुरुआतमा दर्शकविना खेल सञ्चालन गर्दै आएकामा सेमिफाइनलदेखि खोप कार्डका आधारमा दर्शकलाई प्रवेश दिइने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

दर्शकको प्रत्यक्ष खेल अवलोकन गर्ने चाहनाको सम्मान गर्दै स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनले दिएको स्वीकृति अनुसार सिट क्षमताको एक तिहाइ टिकट बिक्री गरिनेछ । पोखरा रङ्गशालाको प्यारापिट १६ हजार ५०० दर्शक क्षमताको छ ।

प्रतियोगिताको फाइनल खेल आगामी माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here