नयाँ दिल्ली, ११ माघ/एएनआई
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमित हुनेहरूको सङ्ख्या घट्दै गइरहेको देखिएको छ ।
मङ्गलवार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन सोमवार विहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका थिए । आइतवारको तुलनामा सोमवार दैनिक सङ्क्रमित सङ्ख्या २७ हजार ४६९ ले घटेको थियो ।
भारतमा अहिले कोराना भाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा अहिले एउटै अवधिमा नयाँ सङ्क्रमित सङ्ख्याभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ । रासस