प्रस, वीरगंज, १० माघ/
वीरगंज महानगरपालिकाले विवादित जमीनमा अस्थायी बजार स्थापना गर्दैछ । वीरगंज महानगर–४ भगवती राइस मिल क्षेत्रमा रहेको १ बिघा ७ कठ्ठा जग्गा सम्बन्धमा अहिले जिल्ला अदालत पर्सा र सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।
विचाराधीन अवस्थामा रहेको सो मुद्दाको फैसला नहुँदै महानगरपालिकाले अहिले फेरि अस्थायी बजार स्थापना शुरू गरेको छ । यस अघि महानगरपालिकाले सो स्थानमा माटो भर्दा अदालतले मुद्दाको फैसला नहुँदासम्म सो स्थानमा कुनै कार्य नगर्न महानगरलाई निर्देशन गरेको थियो ।
वीरगंजका ताराचन्द केडियाले जिल्ला अदालत र सर्वोच्च अदालतमा वीरगंज महानगरसहित नेपाल सरकार, मालपोत विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगविरुद्ध सो जग्गा सम्बन्धमा मुद्दा दायर गरेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज महानगर–४ स्थित एक बिघा ७ कठ्ठा जग्गा ऐलानी पर्ती भनेर नेपाल सरकारको नाममा दर्ता गर्न मालपोत विभागलाई २०६६ सालमा निर्देशन गरेबमोजिम मालपोत विभागले नेपाल सरकारको नाममा उक्त जग्गा नामसारी गरेको थियो । सोविरुद्ध ताराचन्द केडियाले अदालतमा रीट गरेका हुन् ।
वीरगंज महानगरपालिकाले उक्त जग्गामा पहिलेदेखि गुदरी बजार रहेको दाबी गर्दै आएको छ । सोही कुरालाई प्रमाणित गर्न यस अघि महानगरले सो जमीनमा माटो भर्ने काम गरेको थियो । एक दशकपछि अहिले पुनः सो जग्गामा बाँसको छाप्रो बनाएर अस्थायी बजार निर्माण गरिंदैछ ।
विपी उद्यानमा रहेको तरकारी बजार तत्कालका लागि सो स्थानमा राखिन लागेको नगरप्रमुख विजयकुमार सरावगीले बताए । उनले मुद्दा विचाराधीन अवस्थामा रहेको तर नेपाल सरकारको नाममा भइसकेकोले महानगरले त्यसमा अस्थायी बजार स्थापना गर्न लागेको बताए । मुद्दा विचाराधीन भएकै कारण महानगरले त्यसमा ठूलो लगानी नगरेको उनले बताए ।
नगरप्रमुख सरावगीले तरकारी बजारको लागि नगवा र परवानीपुरमा जग्गा हेर्ने काम भइरहेको र दुवैमध्ये एक ठाउँमा महानगरले स्थायी तरकारी बजार बनाउने बताए ।