नयाँ दिल्ली, ८ माघ/एएनआई

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिवार दिएको जानकारी अनुसार अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् ।

अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामंै रहेकाको कुल सङ्ख्या भने बढिरहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामा छन् ।

सोही अवधिमा सङ्क्रमणमुक्त हुने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने तीमध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ ।

पाकिस्तानमा विद्यालय बन्द

कोरोना भाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको
छ।
कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी बिरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनुपरेको अधिकारीको भनाइ छ ।

महामारी थप फैलिन नदिन सरकारले देशभरिका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । “सबै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गर्ने निर्णय भएको छ”– सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९,०७७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित छन् । तीमध्ये ६५४० पछिल्लो २४ घण्टामा थपिएका हुन् । महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ ।

पाकिस्तानमा अहिले कोरोना भाइरसको पाँचौं चरणको महामारी शुरू भएको सरकारी अधिकारीले घोषणा गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here