राधेश्याम पटेल, वीरगंज, ५ माघ/
वीरगंजमा पछिल्लोपटक कोरोना महामारीको तेस्रो लहर तीव्ररूपमा फैलिंदै छ । नारायणी अस्पताल वीरगंजमा दैनिक हुने परीक्षणमध्ये ६५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण देखिएको
छ ।
त्यसैगरी हरेक घरमा दुईचारजना रूघाखोकी तथा ज्वरोले मानिसहरू ग्रस्त छन् । सामान्य फ्लुजस्तो लक्षण देखिए पनि सामान्य रूघाखोकी भएर पिसिआर तथा एन्टिजेन परीक्षण गराउने अधिकांशमा कोरोना पोजेटिभ पुष्टि भइरहेको नारायणी अस्पतालका सूक्ष्मजीव विज्ञ डा. प्रभाकरणराज पाण्डेले जानकारी गराएका छन् । वीरगंज करिडर अर्थात् बारा–पर्सा औद्योगिक क्षेत्रमा पनि यसको असर परिरहेको छ । केही उद्योगले उत्पादन घटाएका छन् भने चीसो र कोरोनाको त्रासले बजारको चहलपहलमा पनि ह्रास आएको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घका सदस्य एवं ओम चाओबिरो प्रालि चैनपुरका सञ्चालक सुरेश रूँगटाले कोरोनाको त्रास रहे पनि प्यानिक भइहाल्ने अवस्था सृजना नभएको बताए । “खासै असर परेको छैन, केही मजदूर बिरामी परिरहेका छन्, तर परीक्षणको दायरा न्यून भएकोले धेरैले चेकजाँच नगराई रूघाखोकी–ज्वरोको औषधी खाएर तीन दिनमा निको भइरहेका छन् । वीरगंजका उद्योगी अशोक वैद्यले उद्योगदेखि कार्यालयसम्म सामाजिक दूरी तथा सतर्क भएर काम गरिरहेको बताए । शालिमार समूहका सञ्चालक तथा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष वैद्यको कार्यालयका केही स्टाफसमेत बिरामी परेर बिदा बस्दा काम प्रभावित भइरहेको बताए ।
वीरगंजका व्यवसायी माधव राजपालका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका कर्मचारीसँगै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसमेतमा कोरोना पुष्टि भएपछि वीरगंज ग्रीन जोनबाट फेरि रेड जोन अर्थात हट स्पट बन्ने हो कि भन्ने खतरा बढेको बताए । उनका अनुसार अहिले वीरगंज करिडरका धेरै हाइप्रोफाइल नेता, उद्योगी, समाजसेवी, स्वास्थ्यकर्मीलगायतमा कोरोना सङ्क्रमण देखिएको बताए । तर आराम र औषधी सेवनबाट निको हुने दर पनि बढिरहेकोले खासै चिन्ताजनक अवस्था नभएको बताए ।
पर्सा–बारा औद्योगिक करिडरमा सानाठूला गरी करीब २ हजारको हाराहारीमा उद्योग सञ्चालनमा रहे पनि उत्पादन २० प्रतिशतले कटौती गरिएको जनाइएको छ । अवस्था सामान्य बनेपछि पुनः पुरानो लयमा फर्काउने व्यवसायीहरूको लक्ष्य छ ।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले कोरोना महामारीलाई ध्यान दिंदै स्थानीय प्रशासन र सरकारहरू मिलेर स्वास्थ्य मापदण्ड पालना गराउन र उपचार तथा अन्य बन्दोबस्तीका लागि पूर्व तयारीमा जुट्नुपर्ने सुझाव दिए । उनले सर्वसधारणलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड हुने कार्यक्रममा सहभागी नहुन अपिल गरेका छन् ।