काठमाडौं, ५ माघ/रासस

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त ग¥यो ।

एपिएफले पुलिसलाई जीतका लागि १५८ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा पुलिस निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनमा समेटियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रनको योगदान गरे तापनि त्यो जीतका लागि पर्याप्त भएन । ५४ बल खेलेका दीपेन्द्रले तीन चौका र दुर्ई छक्काको मदतमा ६५ रनको योगदान दिएका हुन् । त्यसैगरी दिलीपनाथले २३, आरिफ शेखले १२ तथा अनिल साहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । गुलशन झाले ५, राशिद खानले ४, अमृत श्रेष्ठले ३ तथा योगेन्द्रसिंह कार्कीले एक रन जोडे ।

एपिएफका किशोर महतोले तीन विकेट लिए भने अविनाश बोहरा, अमर रौटेला र दीपक बोहराले समान एक/एक विकेट हात पारे । त्यस अघि टस हारेर पहिले ब्याटिङ थालेको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । एपिएफका अमर रौटेलाले सर्वाधिक २९ रनको योगदान दिए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदीप ऐरीले ७, दीपक बोहराले ६ रन तथा पुरन विक शून्य रनमा आउट भए । त्यस्तै, किशोर महतो ८ रनमा आउट हुँदा अविनाश बोहरा १ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन/तीन विकेट लिए भने गुलशन झाले २ विकेट लिए । त्यस्तै आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान एक/एक विकेट झारे ।

सेमिफाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने पुलिसले वाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । गत पुस २६ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी दश टोलीको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here