प्रस, वीरगंज, ४ माघ/
जनता समाजवादी पार्टी, पर्साको विवाद चुलिंदै गएको छ । दुई चिरामा बाँडिएका पार्टीका नेता, कार्यकर्ताहरू हिजो सोमवार भेला भई जिल्ला अध्यक्ष रामनरेश यादवलाई बहुमतले हटाएर मन्जुर अन्सारीलाई अध्यक्षमा छनोट गरेपछि विवाद उत्पन्न भएको हो ।
जसपाको एक समूहले भेला आयोजना गरी समानान्तर जिल्ला तदर्थ समिति गठन गरेको छ । उपाध्यक्ष वासुदेव यादवको उपस्थितिमा बसेको बैठकमा ८३ जना जिल्ला कार्यसमिति सदस्यमध्ये ६२ जना सदस्यले रामनरेश यादवलाई हटाएर मन्जुर अन्सारीलाई अध्यक्ष बनाएका छन् ।
पार्टीको काम गर्न नसकेका यादवका कारण पार्टी छाड्नेहरू बढ्दै गएकाले यादवलाई हटाइएको वीरगंज नगर अध्यक्ष ईश्वरचन्द्र यादवले बताए । तीन वर्षअघि तदर्थ समितिका अध्यक्ष रहेका यादवलाई पटक–पटक जिल्ला अधिवेशन गर्न दबाब दिए पनि उनले सुनवाइ नगरेको नगर अध्यक्ष यादवको भनाइ छ ।
भेलामा केन्द्रीय सदस्य मोहनलाल चौधरी, वीरेन्द्र यादव, जनार्धन यादव, विपिन यादव, मन्जुर अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्मद अन्सारी, जरी लामा, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाललगायतको सहभागिता थियो ।
यसैगरी, जसपामा आबद्ध भ्रातृ सङ्गठनहरूले आज प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष मन्जुर अन्सारीलाई समर्थन गरेका छन् । समाजवादी युवा सङ्घ, पर्साका इन्चार्ज अमित यादव, समाजवादी महिला सङ्घकी इन्दुदेवी यादव, समाजवादी विद्यार्थी युनियन ठाराब क्याम्पस एकाइ अध्यक्ष हरिन्द्र साह, समाजवादी युवा सङ्घ नेपालका अध्यक्ष गौरव वर्मा, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबू राँकी, समाजवादी मुस्लिम सङ्घ नेपालका अध्यक्ष महम्मद अन्सारीले विज्ञप्तिमार्फत कार्यकालको शुभकामना दिएका छन् ।