प्रस, वीरगंज, ३ माघ/

वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सञ्चारमाध्यमको विकासको लागि महानगर प्रतिबद्ध भएको बताएका छन् ।

आमसञ्चार माध्यमको प्रवद्र्धन र नियमनका लागि सरोकारवालाको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले प्रेस स्वतन्त्रताबाट देश विकास हुने भएकोले महानगर प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहँदै आएको दाबी गरे । उनले महानगरले सञ्चार ऐन, कानून बनाउन लागेको र सोबारे सञ्चारकर्मीहरूसँग छलफल गरेको बताए । नगरप्रमुख सरावगीले यस अघि पनि महानगरपालिकाले विभिन्न ऐन, कानून ल्याएको र सो विषयमा सरोकारवालाहरूसँग छलफल गरेको तर छलफलमा न्यून सहभागिता हुने र अप्ठेरो परेपछि ऐन, कानूनको विरोध हुने गरेको बताए ।

नगरपालिकाका सल्लाहकार गोविन्द देवकोटाले महानगरपालिकाले कानून बनाएर पत्रकारिताको संस्थागत विकास गर्न खोजेको बताए । उनले यस अघि महानगरले लोककल्याणकारी विज्ञापन परीक्षणको रूपमा उपलब्ध गराउँदै आएको र अब सोसम्बन्धी कानून बनाएर वैधानिकता प्रदान गर्ने प्रयासमा रहेको बताए । उनले पत्रकार आचारसंहिताको पालना गरी महानगरले उपलब्ध गराएको सूचना सम्प्रेषण गर्न आग्रह गरे । सल्लाहकार देवकोटाले महानगरपालिकाबाट हुने त्रुटि, कमजोरीबारे पनि पत्रकारहरूलाई कलम चलाउन आग्रह गरे । उनले नगरप्रमुख सकारात्मक टीका–टिप्पणीको पक्षधर भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेले सञ्चार ऐन, कानून सम्बन्धमा महासङ्घको अवधारणा प्रस्तुत गरेका थिए । प्रदेश महासचिव श्याम बन्जाराले महानगरले पत्रकारहरूको पक्षमा काम गर्दै आएको दाबी गरे ।

प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले महानगरले सञ्चार क्षेत्रमा गर्दैअFएको कार्यको प्रशंसा गरे । उनले सेवा सुविधाहरूका लागि पत्रपत्रिका बढ्ने क्रम वीरगंजमा देखिएको र अबका दिनमा त्यस्ताखाले विकृतिले प्रश्रय नपाओस् भनेर सुझाए ।

नेपाल पत्रकार महासङ्घका पूर्व सदस्य महेश दासले महानगरको अहिलेसम्मको कार्यशैली सञ्चारमैत्री देखिएको र बन्ने कानून कार्यान्वयनको पक्षमा चलखेल गरिए पत्रकारले खबरदारी गर्ने बताए ।

प्रेस काउन्सिल नेपालका सदस्य लालबाबू शेखले महानगरपालिकाले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनमा थप सुविधा जुटाउन सुझाए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले चार वर्ष अघि स्थानीय तह गठन हुनु पहिले महासङ्घले मिडिया व्यवस्थित गर्न महानगरलाई ज्ञापनपत्र बुझाएको र अहिलेको अवस्थामा सुधार देखिएको बताए । उनले महानगरले बनाउने कानून प्रदेश र सङ्घ सरकारको जस्तो नहोस् भनी सुझाए । उनले पत्रकारमैत्री कानून नल्याएको कारण सङ्घ र प्रदेश सरकारले मिडियासम्बन्धी कानून कार्यान्वयन हुन नसकेको बताए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले लोक कल्याणकारी विज्ञापनको दररेट वृद्धि गर्नुपर्ने, विज्ञापन वितरणमा भइरहेको विभेद हटाउनुपर्नेलगायत सुझाव दिएका थिए । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here