काठमाडौं, ३० पुस/रासस
राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्दै त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीको यो दोस्रो जीत हो।
मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो।
चार खेलमध्ये आर्मीले दुर्ईमा जीत हासिल गरेको हो। आर्मीले यस अघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग चार विकेटले हार बेहोरेको थियो। तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश नं १ सँग एक–एक अङ्क बाँडेको थियो।
सुदूरपश्चिमले भने पुलिसविरुद्ध पहिलो खेलमा दुर्ई रनले पराजय भोगेको थियो भने कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको थियो।
आजको खेलमा ११६ रनको लक्ष्य आर्मीले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा ग–यो। आर्मीका लागि हरि चौहानले ३३ रनको योगदान दिए। विक्रम सोबले अविजित २९, भीम सार्कीले १३, शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट लिए। यस्तै नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए।
त्यस अघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो। उसका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे। वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाए। बलिङतर्फ आर्मीका विक्रम सोबले उत्कृष्ट खेल प्रदर्शन गरे। उनी एक्लैले ६ विकेट लिए। चार ओभर बलिङ गर्ने क्रममा सोबले मात्र आठ रन खर्चे। यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले एकएक विकेट लिए।
प्रधानमन्त्री कप क्रिकेट ः पुलिस क्लबद्वारा कर्णाली पराजित
काठमाडौं, ३० पुस/रासस
नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको हो। पुलिसले यस अघि सुदूरपश्चिम प्रदेशलाई २ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको थियो। जीतसँगै पुलिस सेमिफाइनल नजीक पुगेको छ।
कर्णालीले हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजय बेहोरेको छ। कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। यस अघि कर्णालीले आर्मी र सुदूरपश्चिमविरुद्ध खेलमा पराजय भोगेको थियो भने प्रदेश नं १ लाई पराजित गरेको थियो।
आजको खेलमा पुलिस क्लबले दिएको २४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो। कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गरे। उनले ४७ बल खेल्दै ६ चौका र ३ छक्का हाने। बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्र सिंह ऐरीले दुर्ई–दुर्ई तथा पवन सर्राफ, कुशल भुर्तेल, करण केसी र गुलशन झाले एक–एक विकेट लिए।
त्यस अघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रनको योगदान दिए। उनले ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै दीपेन्द्रसिंह ऐरीले ६२, दिलीप नाथले ३१, पवन शर्राफले २२, आरिफ शेखले १८ र मञ्जित श्रेष्ठले १९ रन बनाए। बलिङतर्फ कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुर्ई–दुर्ई विकेट लिए।