प्रस, वीरगंज, २९ पुस/

जिल्ला प्रहरी कार्यालय, पर्साले पत्रकार सम्मेलन गरी पुस २२ गते मृत भेटिएका वीरगंज–३ डेरा गरी बस्ने भारतीय नागरिक मुख्तार मियाँको हत्या भएको र सो सम्बन्धमा पाँचजनालाई पक्राउ गरिएको बताएको छ ।

जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले पुस २१ गते साँझदेखि ई–रिक्शासहित हराएका मुख्तार मियाँकी पत्नीले २२ गते निवेदन दिएको र सोही दिन मुख्तारको शव वयोधा अस्पतालको पछाडिपट्टि वीरगंज–२३ इटियाहीस्थित नहरमा फेला परेको सन्दर्भमा अनुसन्धान गर्दा रिसइवी र आर्थिक प्रलोभनको कारण निजको हत्या भएको देखिएको बताए । उनले घटनामा प्रत्यक्षरूपमा संलग्न चारजनामध्ये तीनजना पक्राउ परेका र एकजना फरार भएको तथा दुईजना मतियारलाई पनि पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा मुख्तारसँगै कार्टुन कारखानामा कार्यरत निजका छिमेकी भारतीय नागरिक सुनीलकुमार, बारा, परवानीपुर निवासी नितेश पटेल र मुख्तारकै घरमा बस्ने सपन मण्डल रहेको प्रवक्ता खनालले बताए । पक्राउ परेका यी तीनमध्ये सुनील र नितेशविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको तथा मण्डल र दुईजना मतियार नाजीर हुसेन, बाबर हुसेनविरुद्ध सार्वजनिक अपराध मुद्दा तत्काल दर्ता भएको र थप अनुसन्धानपछि निजहरूमाथि सोही मुद्दा दर्ता हुने बताए ।

घटना अनुसन्धानमा सुनील र मुख्तारका पत्नीबीच झगडा भएको र सोही कुरालाई लिएर सुनीलले मुख्तारलाई ज्यान मार्ने धम्की दिएको तथा निजकै योजनामा हत्या भएको अनुसन्धानबाट खुलेको बताएका थिए । गर्भवती महिलालाई गण्डकबाट ल्याउनुपर्ने भनेर मुख्तारलाई रु पाँच सय भाडा तय गरी ई–रिक्शामा बसेर गएको र रिन्चले प्रहार गरी हत्या गरेको तथ्य निजको शव व्यवस्थापनमा नाजीर, बाबरसमेतले सघाएको प्रवक्ता खनालले बताए।

मुख्तारको शव भेटिएको स्थानबाट निजले लगाएको ज्याकेट, मास्क, टोपी, जुत्ता र सो ठाउँमा रगतको टाटो देखिएपछि हत्या भएको खुलेको र सोही अनुरूपको अनुसन्धान गर्दा यी व्यक्तिहरूको संलग्नता पुष्टि भएको उनले दाबी गरे । घटनामा प्रहरीले मुख्तारको ई–रिक्शा बाराको फेटा गाउँपालिका–४ पिलाहा सडकबाट पुस २५ गते बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here