जीतलाल श्रेष्ठ, निजगढ, २९ पुस/

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको बिहीवार भ्रमण गरेका छन् । विमानस्थलको पश्चिम उत्तरी क्षेत्र पसाहा पुल, टाँगियाबस्ती, ककरी, कोल्हवी, भीमसखुवा हुँदै निजगढको तामागढी विमानस्थल निर्माण क्षेत्रको अवलोकन गरेका थिए ।

अवलोकनपछि निजगढ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै उनले विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले विमानस्थल निर्माणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चासो र चिन्ता रहेको बताए । उनले नेपाल र नेपालीको विकास, समृद्धि र भविष्यसँग जोडिएको यस राष्ट्रिय गौरवको महŒवपूर्ण आयोजना निर्माणमा बहानाबाजी गर्न नहुने बताए । उनले विमानस्थलको मध्यभागमा रहेको टाँगियाबस्तीका बासिन्दाको यथोचित माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विजय यादवले विमानस्थल निर्माणका लागि टाँगियाबस्ती मुख्य समस्याको रूपमा रहेको बताए । उनले कैयौंपटक यसको उचित व्यवस्थापनको गृहकार्य गरिसकेको तर सरकारले बेलामा निर्णय नगर्दा समस्या यथावत् रहेको बताए ।

उनले काटगाँउ, ककरीलगायतको ११० विघा ३ कठ्ठा नम्बरी जग्गामध्ये ४६ करोड ९१ लाख मुआब्जा दिई करीब ७० बिघा जग्गा आयोजनाले आफ्नो स्वामित्वमा लिएको र बाँकी जग्गा अधिग्रहणको प्रक्रिया चलिरहेको बताए । निजगढका नगरप्रमुख सुरेशकुमार खनालले टाँगियाबस्ती स्थान्तरण गरी त्यहाँका मानिसहरूलाई क्षमता अनुसार रोजगार दिनुपर्ने सुझाए ।

डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले विमानस्थल निर्माणका लागि चाहिने कुल ११ हजार ८ सय ७५ बिघा क्षेत्रफलमध्ये पहिलो चरणका लागि १९ सय हेक्टर वन क्षेत्रमा नम्बरिङ, ट्यागिङ कार्य शुरू गरिए पनि दुर्ईवटा प्लाटिङ्गमा ५७ हजार ३५० मा नम्बरिङ, ट्यागिङ भएको बताए । उनले सो कार्यलाई निरन्तरता दिन थप बजेट प्रवाह नहुँदा सो कार्य रोकिएको जानकारी गराए ।

अवलोकनमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईलगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here