प्रस, वीरगंज, २९ पुस/

पर्सामा कोरोना सङ्क्रमित सङ्ख्या फेरि बढ्दैछ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा पुस २६ गते ५८ जनाको पिसिआर गर्दा २२ जना सङ्क्रमित पुष्टि भएका थिए ।

सङ्क्रमित पुष्टि हुनेहरूमा काठमाडौं, रौतहट र बाराका एक/एकजना र बाँकी १९ जना पर्साका थिए । यसैगरी पुस २८ गते ९५ जनाको पिसिआर गर्दा ५१ जना सङ्क्रमित भएका र उनीहरूमध्ये बाराका ३, मोरङ, काठमाडौं, ललितपुरका १/१ जना गरी ४५ जना पर्सा जिल्लाको रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले बताए ।

यसैगरी शङ्कराचार्य गेटमा भारतबाट आउनेहरूको पुस ८ गतेदेखि एन्टिजेन परीक्षण गर्दा पुस २८ गते बीस दिनको अवधिमा डेढ सयभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् । नेपाली सङ्क्रमितहरूलाई स्थानीय पालिका अन्तर्गत होम आइसोलेशनमा राख्न सुझाइएको तर भारतीयहरूलाई भारतीय प्रहरीको जिम्मा लगाउँदा उनीहरूले जिम्मेवारी स्वीकार गर्न नमान्दा भारततर्फ पठाउने गरिएको छ । भारतीय सङ्क्रमितहरू चोर बाटो नेपाल प्रवेश गरेको आशङ्का पनि छ । भारतीय पक्षले जिम्मेवारी पूरा नगर्दा उनीहरू चोरबाटो नेपाल प्रवेश गरेको हुन सक्ने आशङ्का गरिंदैछ ।

वीरगंज भन्सार कार्यालयमा सङ्क्रमित पुष्टि भएकाहरूका लागि बनाइएको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेकोले अहिले सङ्क्रमित पुष्टि हुनेहरूको उचित व्यवस्थापन गर्न सकिएको छैन । यसले अवस्थाले गर्दा समुदायमा सङ्क्रमण प्रसार हुने ठूलो आशङ्का देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here