राधेश्याम पटेल, परवानीपुर, २८ पुस/

हिमालयन डिस्ट्रीलरी लिमिटेडको आव २०७७–०७८ को २१ औं साधारणसभा सम्पन्न भएको छ । कम्पनी रजिस्टर्ड कार्यालय वीरगंज–२१ लिपनीबिर्ता, पर्सा कार्यालयमा आयोजित समारोहमा विभिन्न प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद पोखरेलले बताए ।

साधारणसभाले गत आवको कारोबारबाट शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश (लाभांश, कर, प्रयोजनसमेत) र ७५ प्रतिशत बोनस शेयर (चुक्ता पूँजीको) गरी कुल शतप्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । गत आव २०७७–०७८ मा बोनसबापत खुद मुनाफाको १० प्रतिशत अर्थात् रु. १५ करोड ६४ लाख छुट्याएको छ । गत आव २०७७–०७८ मा कुल ६ अर्ब ५० करोड ७० लाखको कुल कारोबार गरेकोमा खर्च कटाएर खुद मुनाफा रु ९७ करोड २६ लाख ८० हजार गरेको थियो ।

त्यसैगरी अघिल्लो आव २०७६–०७७ मा २० औं सधारणसभाले ५०–५० प्रतिशत नगद र शेयर बोनस गरी शतप्रतिशत नै लाभांश दिएको थियो । त्यस बेला कम्पनीले कुल रु ४ अर्ब ७६ करोड ७० लाख बराबरको कारोबार गरेकोमा खुद मुनाफा रु ४६ करोड ६७ लाख आर्जन गरेको थियो । सो वर्ष कोरोना महामारीले कम्पनी करीब चार महीनाभन्दा बढी बन्द थियो ।

गत आवको लाभांश वितरणपछि रु ९० करोड बराबरको अधिकृत पूँजी रु १ अर्ब ६० करोड हुनेछ भने रु ८६ करोड ७७ लाख रहेको चुक्ता पूँजी रु १ अर्ब ५१ करोड ८४ लाख हुनेछ ।

कम्पनीका कर्मचारी तथा मजदूरहरूले गत आवको लागि छुट्याएको बोनस रकम रु १५ करोड ६४ लाखमध्ये दोब्बर बोनस पाउने छन् अर्थात् मजदूरहरूले गत वर्ष ९ महीनाको बोनस पाएका थिए भने यस वर्ष करीब २० महीनाभन्दा बढीको पारिश्रमिक बराबरको बोनस पाउनेछन् । एउटा मजदूरले गत वर्ष करीब रु २ लाख बोनसबापत पाएका थिए भने यस वर्ष करीब रु ४ लाखको हाराहारीमा बोनस पाउनेछन् ।

साधारणसभा हिमालयन डिस्टिलरी लिमिटेड सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहको अध्यक्षता भएको थियो । उनैले पेश गरेको आव ०७७–०७८ को आयव्यय प्रतिवेदन पारित गरेको डिस्टिलरीका प्रबन्धक उदय भण्डारीले बताए । कार्यक्रमको सहजीकरण कारखाना सञ्चालक समितिकी सचिव निशा निरौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here