कास्की, २६ पुस/रासस
मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा गोल्डकप फूटबल प्रतियोगिताको २०औं संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
‘खेलकूद विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’ सङ्कटा फूटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रूस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाइएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए ।
अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रूट एसोसिएशन डाउल्ला, क्यामरून रहेको थियो । विसं २०५५ मा स्थापना भएको सहारा क्लबले आयोजना गर्ने यो प्रतियोगितालाई पोखराको पर्यायवाचीका रूपमा लिने गरिन्छ। यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रूपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फूड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ।
प्रतियोगितामा कुल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ । क्याराभान गोल्ड कपसहित यो प्रतियोगिता २१ वर्षदेखि निरन्तर सञ्चालित छ । प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी’ स्मृति सहारा फूटबल एकेडेमीमा खर्च गरिंदै आएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
हाल तेस्रो ब्याचका रूपमा सो एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् । विसं २०६१ देखि आश्रित बालकको भरणपोषण आवासीयरूपमा निश्शुल्क स्वास्थ्य, शिक्षालगायत फूटबल प्रशिक्षणलगायत कार्य क्लबले गर्दै आएको छ । एकेडेमीको सञ्चालनको मुख्य स्रोत प्रतियोगिताको आय रहेको छ ।
गत वर्ष सम्पन्न प्रतियोगिताबाट कुल आम्दानी रु ७६ लाख ५० हजार ६४७ र खर्च रु ६३ लाख एक हजार १९९ भएको तथा रु १३ लाख ४९ हजार ४४७ बचत भएको कार्यक्रममा जानकारी दिइएको थियो ।