न्युयोर्क, २६ पुस/रासस

अमेरिकी शहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतवार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि रहेका बताइएको छ । न्युयोर्क शहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन् ।

उनका अनुसार आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका परेका छन् । अरू कैयौं व्यक्ति घाइते भएका छन् । प्रारम्भिक समाचार अनुसार आगलागीमा परेका अरू ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको न्युयोर्कका मेयर एरिक एडम्सले जानकारी दिनुभयो ।

न्युयोर्कको अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोलले यहाँको एउटा १९ तले भवनको एक तल्लामा आगो लागेको थियो । तर घाइतेहरू भने त्यस तल्लाबाहेकका अरु पनि धेरै तलामा भेटिएका थिए । उनका अनुसार त्यस भवनको एक तल्लामा आगो लागेपछि अरु तल्लामा पनि धूवाँ भरिएको थियो । सो भवनमा धूवाँमा परेर कैयौं व्यक्ति निसास्सिएका थिए ।

यहाँका समाचार माध्यमहरूले आगलागीबाट न्युयोर्कमा धेरै वर्षपछि यो ठूलो दुर्घटना भएको बताएका छन् । कतिपय मिडियाले यो आगलागी ३० वर्ष यताकै सबैभन्दा खराब दुर्घटना पनि भनेका छन् । न्युयोर्कको ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो ।

आगो लगेपछि सो तल्लाका मानिसको जलेर मृत्यु भएको थियो भने त्यसभन्दा माथिल्लो तल्लाका मानिस धूवFँले निसास्सिएका थिए । अग्नि नियन्त्रकले धूवाँ सबै तल्लामा फैलिएको पाइएको बताएका छन् । यस आगलागीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तर अधिकारीहरूले करेन्ट सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

आगो निभाउन करीब दुई सय अग्नि नियन्त्रक खटाइएका थिए । अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । तर क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here