प्रस, सेढवा, २४ पुस/

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रको लापरवाहीका कारण पर्साको ग्रामीण भेगमा विद्युत् सेवा अवरोध हुने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन् । ठोरी, जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर गाउँपालिकाहरूमा विद्युत् अनियमित भइरहेको र कुन बेला आउने कुन बेला जाने समय निश्चित नभएको उपभोक्ताहरूले बताए ।

विद्युत् नियमित नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको छ । दैनिक दशौंपटक विद्युत् ट्रीप हुने गरेको जीराभवानी गापा–२ सेढवाका महावीर चौधरीले गुनासो गरे । जाडोको समयमा राति प्रायः विद्युत् अवरुद्ध हुने गरेको चौधरीले बताए ।

पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदा सबैखाले काममा समस्या हुने गरेको स्थानीयले गुनासो पोखेका छन् । विद्युत् नियमित नहुँदा मोबाइल नेटवर्कमा समस्या हुनुका साथै शिक्षक सेवा आयोग तथा लोकसेवा आयोगका लागि अनलाइन कक्षामा पनि समस्या भएको छ ।

विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रका प्राविधिक इन्जिनीयर निर्मल फौजदारले हेटौडा–वीरगंज विद्युत् प्रसारण लाइनको मरम्मत कार्य भइरहेकोले विद्युत् अवरुद्ध हुने गरेको बताए । उनले लाइन काट्ने समयको सूचना फेसबूकमार्फत जानकारी गराउँदै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here