नितेश कर्ण, वीरगंज, २३ पुस/
वीरगंज महानगरपालिका–१ बजारछपकैयाका ज्येष्ठ नागरिकहरूले कम्बल वितरणको माग गर्दै शुक्रवार वडा कार्यालयमा धर्ना दिएका छन् ।
महानगरपालिकाको लोककल्याणकारी योजना अन्तर्गत ३२ वटै वडाका ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई कम्बल, झुल, टर्च, छाता वितरण हुँदै आएकामा वडा नं १ मा पनि दुई सयजना ज्येष्ठ नागरिकका लागि सामग्री आएको तर वितरण नभएकोमा ज्येष्ठ नागरिकहरूले वितरणको माग गर्दै धर्ना दिएका हुन् ।
वडा कार्यालयमा सो सामानहरू आएको केही दिन बितिसक्दा पनि वितरण नगरिएको भन्दै ज्येष्ठ नागरिकहरूले विरोध गरेका हुन् । ज्येष्ठ नागरिकहरूको विरोधलाई वडाध्यक्ष मनोजकुमार गुप्ताले साम्य पारेका थिए । उनले वडासचिव बिदामा भएको कारण वितरण हुन नसकेको बताउँदै सचिव आएपछि आइतवारदेखि वितरण गर्ने आश्वासन दिए ।
वीरगंज महानगरपालिकाले ३२ वटै वडामा पाँच हजार ८०५ जना ज्येष्ठ नागरिकलाई यी सामग्री वितरण गर्ने अभियान पुस १७ गतेदेखि शुरू गरेको र १२ वटा वडामा वितरण गरिसकेको छ ।