- समीर पाख्रिन
रीता ः हैन, अस्ति मङ्गलवार मात्र गएर आएको होइनौ ? किन सबै काम एकैचोटि नगरेको ?
प्रीतम ः घरमा बसेर भात पकाको जस्तो सजिलो हुन्छ ? अँ मेरो रातो ज्याकेट सुक्यो होला ले । त्यही लगाएर जान्छु ।
रीता ः छिः एउटै ज्याकेट कति लगाएर हिंडेको ? अस्ति किनेको नयाँ लगाए भैहाल्यो नि । प्रीतम ः तँ चुप लाग् । अब कपडा लगाउन पनि तँसित अनुमति लिनुपर्ने मैले ? खै ले । रीताले रातो ज्याकेट दिन्छ । प्रीतमले ज्याकेट र चश्मा लगाएर फेरि एकचोटि ऐना हेर्छ र घरबाट निस्कन्छ । प्रीतम घरबाट प्रस्थान गर्छ साथै रीताले भाइ आकाशलाई फोन गर्छे ।
रीता ः (मोबाइलमा) आकाश, सुन्न तेरो भिनाजु आज पनि वीरगंज जाने भनेर घरबाट निस्कियो । तँ के गर्दैछस् ? मोटरसाइकल लिएर तुरुन्त आइज् त । आज जसरी भएपनि यो प्रीतमको भण्डाफोर गर्नैपर्छ । ल, आइज् है, म तयार हुँदैछु ।
रीता हतारहतार कपडा लगाएर तयार भई छिमेकीको घरमा बबिता दिदीकहाँ जान्छे ।
बबिता ः अँ भन रीता ?
रीता ः म जरुरी कामले बाहिर जान लागेकी । स्मृतिलाई यो चाबी दिनुहोस् है । अँ आउन ढिलो भएँ भने दिदीभाइलाई यतै बोलाएर खाजा खान दिनुहोला । म साँझसम्म आइपुग्छु ।
बबिता ः अनि प्रीतम घरमा छैन ?
रीता ः ए ! ऊ त खै काम छ भनेर भर्खरै घरबाट निस्किसक्यो । ल भाइ पनि आयो म गएँ ।
आकाश ः भिनाजु कति बेला निस्कियो दिदी ?
रीता ः भर्खर दश मिनेट जति भयो होला ।
आकाश ः त्यसो भए बाटोमा भेटिन्छ, जाऊ छिट्टो ।
दिदीभाइ प्रस्थान गर्छन् ।
०००
समय ः मध्याह्न । स्थान ः इमानसिंह हवल्दारको डेरा ।
उषा बिहानैदेखि प्रसन्न मुद्रामा छिन् । रेडियोमा रोमान्टिक गीत बजिरहेको छ । हवल्दार घर फर्केका छन् ।
उषा ः ल बाबा त ड्युटीबाट फर्किसक्नुभएछ ।
इमान सिंह ः उषा आजदेखि तँ तेइस वर्षमा प्रवेश गरिस् । मेरी छोरीलाई जन्मदिनको शुभकामना र आर्शीवाद छ । ला, यो बाबाको तर्फबाट गिफ्ट ।
उषा ः थैंक्यू बाबा । (हतारिएको भावभङ्गीमा स्वयंसित) प्रीतम पनि हेटौंडाबाट हिंडिसक्यो होला । म पनि अब तयार हुनुप¥यो ।
इमान सिंह ः उषा, तैले मेरो सरुवाको पत्र देखिस् ?
उषा ः अहँ, बाबाले नै राख्नुभएको होइन र ? बाबा, मलाई साथीहरूले बोलाएको छ । एक क्षण बजार पुगेर आउँछु है ।
इमान सिंह टिभी खोलेर हेर्न थाल्छ । यति नै बेला सुशीला आइपुग्छे ।
सुशीला ः ल, बूढो आज चाँडै सवारी भएछन् नि त ? खोइ, उषा ?
इमान सिंह ः साथीहरूले बोलाएका छन् रे, बजारतिर जान तयार हुँदैछे ।
सुशीला ः अनि छोरीलाई बर्थ–डे गिफ्ट के दिनुभो ?
इमान सिंह ः छोरीले ज्यादै रहर गरी भनेर यसपालि जन्मदिनमा मैले मेरी छोरीलाई रेवनको कालो चश्मा गिफ्टमा दिएको छु । अनि तैले चाहिं के दिने विचार गरेकी छेस् नि ?
सुशीला ः मैले छोरीलाई यो ल्याइदिएकी छु । (चार आनाको सुनको टप देखाउँदै) कस्तो छ ?
इमान सिंह ः गज्जबको छ । तर यत्रो पैसा तिमीले कहाँबाट ल्यायौ ?
सुशीला ः घरखर्चबाट थोरै–थोरै बचाएर जम्मा गरेकी थिएँ ।
उषा नयाँ जिन्स र टिसर्टमा कालो रेवन चश्मा लगाएर कोठाबाट बाहिर आउँछे ।
वाह ! मेरी छोरी त आज कुनै चलचित्रको नायिकाभन्दा कम देखिएकी छैन । मेरी प्यारी छोरीलाई जन्मदिनको धेरैधेरै शुभकामना र आशिष् ! समात, यो मेरोतर्फबाट सानो गिफ्ट ।
उषा ः (सुनको टप पाएर गद्गद् हुँँदै) थैंक्यू मामु फर लब्ली गिफ्ट । क्रमशः