नयाँ दिल्ली, २२ पुस/एएनआई

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीवार जानकारी दिएको छ । यससँगै भारतमा कोरोना शुरू भएदेखि हालसम्म तीन करोड ४९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

सोही अवधिमा थप ३२५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमितहरूको सङ्ख्या दुई लाख ८५ हजार ४१० रहेको छ । गएको २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनामुक्त भएका छन्। यससँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ४३ लाख ४१ हजार नौजना कोरोनामुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७.८१ प्रतिशत रहेको जनाइएको छ ।

भारतमा कोरोना शुरू भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

भारतमा ओमिक्रोनबाट एकको मृत्यु
नयाँ दिल्ली/सिन्ह्वा

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एकजनाको ज्यान गएको जनाएको छ । भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधवार जनाएको छ ।

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।

कोरोना भाइरसको प्रकोपका कारण चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द
वाशिङ्टन/सिन्ह्वा

अमेरिकामा जनवरी महीना शुरू भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरू निकै बढ्दै गएको देखिएको छ । बुधवारसम्म ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले पछिल्लो हप्ता अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् । यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।
त्यस्तै एटलान्टा, मेरिल्यान्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरू बन्दै गरिएका बताइएको छ । गएको ११ दिनयता यहाँ कोरोनाका सङ्क्रमितहरू दोब्बरभन्दा बढी देखिएका छन्। जसका कारण यहाँका अरू धेरै क्षेत्र पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरू पनि बन्द भएका बताइएको छ ।

अमेरिका विश्वकै सबैभन्दा बढी कोरोनाको कारण प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौं सङ्क्रमित भेटिने गरेका छन् ।

ब्रजीलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
ब्रजील/एएनआई/सिन्ह्वा

आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्रजीलका राष्ट्रपति जायर बोल्सोनारो बुधवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

“आज डिस्चार्ज भएँ । सबैलाई धन्यवाद”–बोल्सोनारोले ट्विटरमा लेखेका छन् । ६६ वर्षीय राष्ट्रपतिलाई सोमवार साओ पाउलोस्थित अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको आन्द्रामा देखिएको आंशिक अवरोधको उपचार गरिएको थियो । सन् २०१८ सेप्टेम्बरमा चुनावी प्रचारका क्रममा पेटमा चक्कु प्रहार भएपछि बोल्सोनारोले हालसम्म चारपटक आन्द्राको शल्यक्रिया गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here