राधेश्याम पटेल, वीरगंज, २१ पुस/
यातायात व्यवस्था कार्यालय, वीरगंज लाइसेन्स शाखामा निरोगिता प्रमाणपत्र जारी गर्दा अनियमितता भइरहेको छ ।
चार वर्षदेखि एकैजना चिकित्सकलाई निरोगिता प्रमाणपत्रको जिम्मेवारी दिंदै आएकोले यसमा आर्थिक चलखेल पनि भइरहेको स्रोतले दाबी गरेको छ । २०७४ सालमा यातायात व्यवस्था कार्यालय, लाइसेन्स शाखाले निरोगिता प्रमाणपत्रको लागि डा अम्बेडकर यादवसँग सम्झौता गरेको थियो । रु एक सय निरोगिता प्रमाणपत्र शुल्क र पचास रुपैयाँ रगत समूहबापत तोकिएको छ ।
डा यादव अहिले चन्द्रपुरमा अस्पताल सञ्चालन गरेका छन् । उनको उपस्थिति यातायात कार्यालयमा छैन । उनले खटाएका डा रामएकबालराय यादव र डा रमेश महतोले निरोगिता प्रमाणपत्र र रगत समूह छुट्याउने काम गर्दै आएका छन् । डा यादव आइतवारदेखि बुधवारसम्म र डा महतो बिहीवार–शुक्रवार गरी दुई दिन खट्ने गरेका छन् ।
निरोगिता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, नवीकरण, थप र नयाँ जारी गर्दा आवश्यक पर्छ । दैनिक चार सयभन्दा बढी सेवाग्राहीले निरोगिता प्रमाणपत्र लिने गरेको तथ्याङ्क छ । प्रतिव्यक्ति रु एक सयको दरले दिनको आम्दानी रु ४० हजार निरोगिता प्रमाणपत्र र रु २० हजार रगत समूहबाट हुँदै आएको छ । तर यो रकम यातायात कार्यालयको खातामा जाँदैन । चिकित्सक, कर्मचारी र बिचौलियाबीच दैनिक रु ६० हजार बाँडफाँड हुने गरेको छ ।
चन्द्रपुरको अस्पतालमा कार्यरत चिकित्सकलाई नै निरोगिता प्रमाणपत्र, रक्त समूह छुट्याउने जिम्मेवारी दिनुले कर्मचारीको मिलेमतो देखिन्छ । सामान्य सेवाग्राहीको लागि बिहान १० देखि ३ बजेसम्म निर्धारण छ भने त्यसपछिको समय बिचौलियाहरूको हुन्छ । खासगरी लेखापढी व्यवसायमा लागेकाहरूले यो समयको उपयोग गर्छन् ।
कार्यालयमैं उपस्थित भएर निरोगिता प्रमाणपत्र लिनेहरूभन्दा बाहिर भएर पनि निरोगिता प्रमाणपत्र लिनेहरूको सङ्ख्या बढी हुने गरेको र त्यसबाट थप आम्दानी भइरहेको स्रोतले जनाएको छ । वार्षिक करोडभन्दा बढी रुपैयाँको चलखेल भइरहेको छ ।
कार्यालय प्रमुख सुशीलकुमार साहले डा यादवबाहेक अन्यले सोभन्दा कम दरमा सेवा दिने हो भने अन्यसँग सम्झौता हुन सक्ने बताए । उनले सेवाग्राहीलाई आर्थिक भार नपरोस् भनेर चिकित्सकको व्यवस्था गरिएको बताए । सम्झौता भएका चिकित्सकले आफू अनुपस्थित हुँदा अन्य चिकित्सकलाई यो कार्यमा खटाउन पाउने भएकाले हाल दुईजना चिकित्सक सम्झौताबाहेक खटिरहेको उनको स्पष्टोक्ति छ ।