प्रस, वीरगंज, २० पुस/
प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय, पर्साका कर्मचारीहरू छ महीनादेखि विनाकाम बसेका छन्।
प्रदेश सरकारले बजेट शीर्षकमा कार्यविधि नपठाएको तथा कार्यविधि पठाएको शीर्षकमा बजेट विनियोजन नभएका कारण उनीहरू छ महीनादेखि विनाकाम कार्यालयमा बसेर दिन बिताउँदै छन्। गर्मीमा भित्र र जाडोमा बाहिर घाम तापेर र शीतलहरमा हिटर तापेर बस्ने उनीहरूको दिनचर्या बनेको छ। पर्सा, बारा, रौतहट गरी तीन जिल्ला हेर्दै आएको यो कार्यालयमा जनता आवास कार्यक्रम अन्तर्गत बारामा दुई हजार ७२४ घर निर्माणको लागि रु १५ करोड ६४ लाख बजेट विनियोजन भएर आएको छ तर कार्यविधि नपठाएकोले बजेट चलायमान नभएको कार्यालय प्रमुख रुद्रनारायण दासले बताए।
यसैगरी, रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–७ मा ज्येष्ठ नागरिक आवास निर्माण कार्यक्रमको लागि रु ३० लाख बजेट विनियोजन भएर आएको छ तर छ महीनादेखि कार्यविधि नहुँदा काम अघि बढ्न सकेको छैन। पर्सा जिल्लाको वीरगंज महानगर–२५, श्रीसियामा ज्येष्ठ नागरिक आवास निर्माणको लागि रु ८० लाख बजेट आएको छ तर यसको पनि कार्यविधि पठाइएको छैन।
जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा २ हजार ६६ वटा घर निर्माणको सम्झौता भएको छ। यसको लागि रु १२ करोड बजेट विनियोजन भएर आएको छ र यो महीना रु ३९ लाख ६४ हजार ८ सय मात्र खर्च भएको छ।
यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–७ र पर्सा जिल्ला, बहुदरमाई नपा–२ पिपरामा इमर्जेन्सी शेल्टर निर्माणका लागि रु ७५/७५ लाख बजेट विनियोजन भएर आएको तर कार्यविधि नभएर यहाँको काम पनि अगाडि बढ्न सकेको छैन।
जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा एक हजार ९४० वटा घर निर्माणको लागि सम्झौता भएको छ र सोको लागि विनियोजन भएको रु १३ करोड ७५ लाखमध्ये चालू महीनामा यो शीर्षकमा रु १३ करोड ३८ लाख ८७ हजार ३ सय ९३ भुक्तानी भएको छ। शहरी विकास तथा भवन कार्यालय पर्सामा महेन्द्रनारायण निधि विपन्न आवास योजनाको लागि पर्सा, बारा र रौतहटमा अढाई/अढाई करोड रकम विनियोजन भएर आएको छ तर सोको पनि कार्यविधि नबनेर काम शुरू भएको छैन।
पर्सागढी नगरपालिका–८ मा सामुदायिक भवन निर्माण, वीरगंज–१० मा शिवपार्वती धर्मशाला निर्माण, रौतहटको देवाहीगोनाही नपा–१ करुनियामा सामुदायिक भवन निर्माण, सोही जिल्लाको माधवनारायण नपा–३ सखुअवामा सामुदायिक भवन निर्माण, बारा जिल्लाको आदर्श गापामा बस्ती विकास कार्यक्रम, बाराको आदर्श कोतवालमा अधूरो वृद्धाश्रम निर्माण, जीतपुरमा सञ्जीवनी वाटिका, भवानीपुरमा वृद्धाश्रम निर्माण, पर्साको विन्ध्यवासिनी गापा–४ मा सामुदायिक भवन निर्माण, बहुदरमाई नपामा सामुदायिक भवन निर्माण र बाराको सिम्रौनगढ नपा–२ मा सामुदायिक भवन निर्माणको लागि जनही रु २०/२० लाख विनियोजन भएको छ तर कार्यविधि नहुँदा यी योजना पनि छ महीनादेखि ओझेलमा छन्।
सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीमा अधूरो सामुदायिक भवन निर्माणको लागि रु १५ लाख विनियोजन भएर आएको छ। तर कार्यविधि नहुँदा काम हुन सकेको छैन।
यसैगरी, सिम्रौनगढ नपाको कङ्कालीमाई धर्मशाला, बारागढी गापा–१ वसन्तपुरमा सामुदायिक भवन, कलैया उपमहानगरपालिका–१४ जीतपुरको राधाकृष्ण मन्दिर सामुदायिक भवन, कलैया उपमनपा–१७ ठूलो बहुअरीमा छठघाट निर्माणलगायत ४७ वटा योजनाका कार्यविधि तयार भएर आएका छन् तर ती योजनाहरूको बजेट भने विनियोजन भएर आएको छैन।
कार्यालय प्रमुख दासले बजेट विनियोजन भएर आएको शीर्षकमा कार्यविधि नबनेको र कार्यविधि बनेको शीर्षकमा बजेट नभएको कारण छ महीनादेखि कार्यालयको काम ठप्प प्रायः रहेको बताए।