प्रस, जनकपुरधाम, २० पुस/
चीसो अत्यधिक बढेपछि धनुषा जिल्लाका तीनवटा स्थानीय तहले विद्यालय बिदा दिएका छन्।
जिल्लास्थित क्षीरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले मङ्गलवारदेखि विद्यालयमा बिदा दिएका हुन्। बढ्दो चीसोका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयमा बालबालिकाको उपस्थितिसमेत पातलिएकाले आउँदो शनिवारसम्मका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय गरेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार घिमिरेले जानकारी दिए।
त्यसैगरी, नगराइन नगरपालिकाले पनि आगामी पाँच दिनका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको जनाएको छ। अत्यधिक चीसो र शीतलहरका कारण पठनपाठनमा समस्या भइरहेकाले मङ्गलवारदेखि पाँच दिनका लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिएको नगरपालिकाले जनाएको छ।
त्यस्तै, लक्ष्मीनियाँ गाउँपालिकाले पनि पालिका क्षेत्रभित्रका विद्यालय अर्काे सूचना नहुन्जेलसम्मका लागि बिदा दिएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले सूचना जारी गरी चीसोका कारण विद्यालयमा बिदा दिएको जानकारी दिएका हुन््।
पछिल्ला केही दिनदेखि शीतलहरका कारण अत्यधिक चीसो बढेपछि प्रदेश २ का जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ।
चीसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय, धनुषाले जनाएको छ।