धनुषामा गोली चल्यो, सातजना घाइते

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, जनकपुरधाम, १८ पुस/

जनमत पार्टीको प्रदर्शनमा आइतवार बिहान प्रहरीले गोली चलाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडकजाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीलाई तितरबितर पार्न र सडक सुचारु गराउनका लागि प्रहरीले ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रुग्याँस प्रहार गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतले पुष्टि गरेका छन् । सो क्रममा प्रदर्शनकारी र प्रहरीसमेत सातजना घाइते भएका छन् । रबरको गोली लागेर जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जनमत पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।

त्यसैगरी, नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एक गरी दुईजना सुरक्षाकर्मीसमेत घाइते भएका जिल्ला प्रहरी प्रवक्ता बस्नेतले बताए ।

बिहानैदेखि बन्द रहेको पूर्व–पश्चिम राजमार्ग भने प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेपछि सञ्चालनमा आइसकेको छ । किसानलाई समयमैं मलखाद उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले पुस १५ गतेदेखि तराई–मधेसका विभिन्न जिल्लामा पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । जनमतले किसान आन्दोलन घोषणा गरेयता विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदै आएको छ ।

सप्तरीका छजना हिरासतमा

राजमार्गमा प्रदर्शन गर्ने क्रममा सप्तरीबाट शुक्रवार पक्राउ परेका जनमत पार्टीका छजना नेता, कार्यकर्तालाई आइतवार छ दिन म्याद थप गरिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्ने क्रममा शुक्रवार पक्राउ परेका १४ जनामध्ये छजनालाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह, कञ्चनरूप नगरपालिका समिति अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कङ्कालिनी–१ का अध्यक्ष सुरेन्द्र मण्डल साथै नेताहरू योगानन्द साह र महीनारायण साहलाई हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शुक्रवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदहमा सडक अवरुद्ध गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद, बीउ, सिंचाइको व्यवस्था गर्नुपर्ने, सिंचाइको व्यवस्था तत्काल गर्न नसके सिंचाइ प्रयोजनमा प्रयोग हुने बिजुली निश्शुल्क गर्नुपर्ने, बालीनाली बीमाको स्वतः सुनिश्चितता हुनुपर्नेलगायत विभिन्न ११ बुँदे माग अगाडि सार्दै जनमत पार्टीले किसान आन्दोलन चलाएको छ । सो आन्दोलन अन्तर्गत पुस १५ गतेदेखि प्रदेश २ का केही जिल्लामा अनिश्चितकालीन राजमार्ग बन्दको घोषणा गरेको छ ।

दुई घण्टा चक्काजाम
प्रस, पर्सागढी, १८ पुस/

जनमत पार्टी बारा र पर्साका कार्यकर्ताहरूले आइतवार महेन्द्र राजमार्गको पथलैयामा दुई घण्टा चक्काजाम गरेका थिए ।

जनमत पार्टीको बारा जिल्ला कार्यसमितिको निर्देशनमा चक्काजाम गरिएको हो । किसानहरूका ११ वटा माग पूरा नभएसम्म अनिश्चितकालीन राजमार्ग बन्द गरिने जनमत पार्टीका जिल्ला अध्यक्ष विनोद यादवले बताएका छन् ।

राजमार्ग बन्दमा जनमत पार्टी बारा जिल्ला सहसचिव राजुप्रसाद साह, ओमप्रकाश साह, सुनील यादव, सुरेश साहलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।