काठमाडौं, १८ पुस/रासस

पछिल्लो समयमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएका छन् । तुलानात्मकरूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासङ्घले जनाएको छ।

महासङ्घको अभिलेख अनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् ।

उक्त घटनामा १९० जना पत्रकार पीडित भएका र चारवटा सञ्चारमाध्यम प्रभावित हुन पुगेको महासचिव रोशन पुरीले जानकारी दिए । यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना भएको र पेशागत असुरक्षाका १० वटा घटना भएको महासङ्घको अध्ययनले देखाएको छ। त्यसैगरी, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका पाँचवटा घटना भएका छन् ।

यसैगरी, पत्रकार गिरफ्तारीका चारवटा घटना छन् भने नीतिगत बन्देजको एउटा घटना भएको महासङ्घको अभिलेखमा छ । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले संविधानमा व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको पूर्णरूपमैं कार्यान्वयन गरेको खण्डमा प्रेस स्वतन्त्रता हननका घटनामा कमी आउने धारणा राखे ।

समग्रमा यस वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार सङ्कलनका क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन् । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नुपरेको छ । विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार सङ्कलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकार घाइते हुन पुगेका छन् । यस वर्ष सार्वजनिक कार्यक्रमका समाचार सङ्कलनमा पत्रकारलाई रोक लगाउने कामले निरन्तरता पाएको छ ।

संसद्, संसदीय समितिका बैठक, मन्त्रीको शपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार सङ्कलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले निर्माणका क्रममा रहेका आमसञ्चारसँग सम्बन्धित ऐन/कानून, मस्यौदालाई सम्बन्धित निकायको सुझावका आधारमा संशोधन वा परिमार्जन गरी ल्याउनुपर्ने र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यस वर्ष सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानून बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएका छन् । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेका विचाराधीन ती कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको महासङ्घको भनाइ छ ।

“कोरोना भाइरसको सङ्क्रमणबाट यस वर्ष पनि पत्रकार प्रभावित भएका छन्, महामारी शुरू भएसँगै अहिलेसम्म २६ जना पत्रकारले ज्यान गुमाएका छन्, त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकारको ज्यान गएको छ,” महासचिव पुरीले भने ।

यता ‘फ्रिडम फोरम’ नामक संस्थाले तयार पारेको वार्षिक मिडिया प्रतिवेदन अनुुसार भने प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी देखाएको छ । सो संस्थाका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ वटा रहेका छन् ।

त्यसैगरी, यस वर्ष कोरोना महामारीको बहानामा पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेका छन् । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलबी बिदामा राख्ने र जागीरबाट निष्कासन गर्ने काम भएको छ । त्यसमध्ये झन्डै ३०० जना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासङ्घले कानूनी तथा दबाबमूलक पहल गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here