प्रस, परवानीपुर, १६ पुस/
वीरगंज–२१ लिपनीबिर्ताको परवानीपुरस्थित स्वास्थ्य चौकीमा करीब तीन महीनादेखि बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । बर्थिङ सेन्टर सञ्चालन भएपछि त्यस भेगका गर्भवतीहरूलाई वीरगंज धाउनुपर्ने समस्याबाट मुक्ति मिलेको बताइएको छ ।
हालसम्म बगहीको १, चोर्नीको १, ताजपुरको २ र परवानीपुरको तीनजना गरी सातजना गर्भवतीहरूले सोही स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा साधारण प्रसूति गराइसकेका छन् । नगरपालिकाले सामाजिक विकास तथा स्वास्थ्य महाशाखाबाट स्वास्थ्यकर्मीहरूको व्यवस्था एवं वडा कार्यालयबाट पनि एकजना अनमीको करारमा नियुक्त गराई बर्थिङ सेन्टर सञ्चालन भएको हो ।
वडाध्यक्ष हबीब मियाँका अनुसार वीरगंज महानगरपालिकामा चौबीसै घण्टा एम्बुलेन्स तैनाथ रहने गरेको र परवानीपुरमा सुत्केरी हुन आउने गर्भवतीहरूलाई वीरगंज नै लानुपर्ने अवस्था भयो भने तुरून्तै एम्बुलेन्स बोलाई नारायणी तथा अन्य अस्पतालमा पठाउने गरिएकोले गर्भवतीहरू परवानीपुरमैं सेवा लिइरहेको जानकारी गराए । उनले भने– परवानीपुर आसपासको करीब एक दर्जन गाउँका गर्भवतीहरू परवानीपुर आउन थालेका छन् ।
औषधि उपचारदेखि सुत्केरीको स्याहार–सुसारमा स्वास्थ्यकर्मीहरूले विशेष हेरचाह गरेको उनको भनाइ छ । अहिले २१ नं. वडा लिपनीबिर्ताको पटेलनगर, परवानीपुर, सुखचैना, ताजपुर, कोइरियाटोला, परवानीपुर गाउँपालिका तथा बाराको लिपनी, मुसहरी, लालपर्सा, बगही, चोर्नी, जगरनाथपुरलगायत ठाउँका सेवाग्राहीलाई फाइदा पुगेको उनले बताए ।
भदौ २८ गते परवानीपुर निवासी खेदु महतोकी पत्नीले छोरी जन्माउँदा वडाध्यक्ष हबीब मियाँकी पत्नी जमुनी खातुनले रु २५ हजार नगद उनको खातामा जम्मा गरेकी थिइन् । यसले बर्थिङ सेन्टरमा सुत्केरी गराउन थालेका छन् ।