प्रस, वीरगंज, १५ पुस/
प्रदेशसभा सदस्य प्रह्लाद गिरीले वीरगंजलाई राजधानी बनाउने विषयमा मुख्यमन्त्री लालबाबूराउत गद्दी सकारात्मक नभएको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशसभा सदस्य एवं लोसपाका नेता गिरीले मुख्यमन्त्री गद्दीले जनकपुरलाई प्रादेशिक राजधानी बनाउने गरी काम गर्दै आएको आरोप लगाए । उनले वीरगंजलाई राजधानी बनाउने विषयमा वीरगंजका प्रदेश सांसदहरू पनि मौन रहेको भन्दै दुःख व्यक्त गरे । उनले वीरगंज राजधानी नहुने हो भने आफूहरूले आन्दोलन गर्ने चेतावनी दिए । राजधानीको विषयमा बल्ल पर्सा, बाराका प्रदेश सांसदहरूले सहयोग गर्न शुरू गरेको उनले बताए ।
प्रदेशसभा सदस्य गिरीले मधेस आन्दोलनको क्रममा मधेसी दलका शीर्ष नेताहरूले वीरगंजलाई राजधानी बनाउने प्रतिबद्धता जाहेर गरेको तर अहिले आएर जनकपुरलाई राजधानी बनाउने कुरामा उनीहरू पनि पल्टिएको आरोप लगाए । प्रदेशको राजधानी बनाउने विषयमा गठित १५ सदस्यीय समितिमा पर्साका एकजना पनि सदस्य नपारिएकोमा उनले दुःख व्यक्त गरे ।
गिरीले राजधानीको लागि सबै पूर्वाधारबाट वीरगंज उपयुक्त भएको बताए । उनले मुख्यमन्त्री गद्दी भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगाए । मुख्यमन्त्री पोखरी सौन्दर्यीकरण अभियानको नाममा भइरहेका कार्यहरू गलत भएको उनको ठहर थियो । उनले विगत चार वर्षदेखि पोखरी सौन्दर्यीकरण कार्य शुरू भएपनि अहिलेसम्म सम्पन्न हुन नसक्नुले मुख्यमन्त्रीको यो निर्णय गलत भएको बताए ।
उनले श्रीसिया नदी प्रदूषणमुक्त गर्ने अभियान नथालिएको तर पोखरी खनेर रकम सिध्याउने योजनामा मुख्यमन्त्री रहेको आरोप लगाए । प्रदेशसभा सदस्य गिरीले मुख्यमन्त्री बेटी पढाइ, बेटी बचाइ अभियानमा भएको भ्रष्टाचार सम्बन्धमा अख्तियारले छानबीन शुरू गरेदेखि मुख्यमन्त्रीको बसाइ जनकपुर नभएर काठमाडौं भएको बताए ।
पत्रकार सम्मेलन नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको थियो र लोसपाका नेताहरू निजामुद्दीन समानी, रम्भा मिश्र, पुरुषोत्तम झालगायतको सहभागिता थियो ।