प्रस, वीरगंज, १५ पुस/
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले होटल व्यवसाय निर्बाधरूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रदेश २ को आयोजनामा बिहीवार होटल, रेस्टुरेन्ट सञ्चालकहरूको लागि खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रजिअ ढकालले शान्ति सुरक्ष्Fामा कुनै कमी नहुने भन्दै होटल व्यवसाय निर्बाधरूपमा सञ्चालन गर्नुपर्ने बताए ।
उनले कोभिडका कारण देशका होटल, पर्यटन व्यवसाय धराशयी भएको बताउँदै यो पेशामा लागेकाहरूले नियम कानून पालना गर्दै काम गरेको खण्डमा कसैले दुःख नदिने प्रतिबद्धता पनि जाहेर गरे । उनले अतिथि सत्कारमा इमानदारिता देखाएको खण्डमा पर्यटन, होटल व्यवसाय फस्टाउने सुझाव दिए । देश विकासमा पर्यटन तथा होटल व्यवसायको अतुलनीय योगदान रहेको चर्चा गर्दै उनले व्यवसायलाई निर्धक्क सञ्चालन गर्न आग्रह पनि गरे ।
प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अतिथिहरूलाई होटल व्यवसायीहरूले पहिचान खुल्ने गरी आदर सत्कारपूर्वक राख्न आग्रह गरे । उनले नेपालमा धेरैजसो आपराधिक गतिविधि होटलमा बसेकाहरूबाट हुने गरेको पाइएकाले व्यवसायीहरूले सजगता अपनाउनुपर्ने र प्रहरीलाई सानोभन्दा सानो घटना पनि जानकारी गराउनुपर्ने सुझाए ।
कार्यक्रममा होटल व्यवसायीहरूले भारतीय सीमासँग जोडिएको वीरगंज शहरमा भारतीय पर्यटकहरू आउँदा सीमा सुरक्षामा खटिएकाहरूबाट दुःख पाउने गरेको गुनासो गरे । उनीहरूले यस्ता कार्यलाई निरुत्साहित गर्न प्रहरी प्रमुखसँग आग्रह गरे ।
होटल व्यवसाय बेलुकी १० बजेपछि बन्द गर्न भनिए पनि प्रहरीले ८ बजेदेखि नै दुःख दिने गरेको भन्दै यस्ता कार्य रोक्न पनि आग्रह गरे । उनीहरूले कुनै पनि बहानामा गैरकानूनी काम नहुने तर कानूनसम्मत हुने कार्यहरूलाई प्रोत्साहित गर्न आग्रह गरे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जनकपुरका अधिकृत रत्नकान्त झाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन तथा होटल व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्त, मोहन प्रधान, रञ्जेश श्रेष्ठ, उषा शाह, अनुज रूँगटा, दीलिप कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा होटल स्तरीकरण तथा लोगो वितरणका लागि सात सदस्यीय समिति गठन भएको थियो ।
यसैगरी, होटल, रेस्टुरेन्ट, मिठाइ पसलहरूले दश दिनभित्र सुधार गर्नुपर्ने र सोअनुरूप अनुगमन समितिले सामान्य एक तारे, दुई तारे र तीन तारे स्टिकर वितरण गर्ने डिभिजन कार्यालय वीरगंजका प्रमुख विक्की राउतले बताए । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घले प्रजिअ ढकाल र प्रउ बस्नेतलाई सम्मान गरेको थियो ।