प्रस, वीरगंज, १५ पुस/
प्रेस चौतारी नेपाल, बाराको पाँचौं जिल्ला अधिवेशन बिहीवार सम्पन्न भएको छ । सिमरामा आयोजित अधिवेशनको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्दै आउँदो स्थानीय, प्रदेश र सङ्घीय चुनावमा एमालेका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्न सुझाए ।
उनले कुनै पनि जनप्रतिनिधिले गर्ने भ्रष्टाचार, अनियमितताको सवालमा भने एमाले भनेर सोविरुद्ध हात नकमाएर कलम चलाउन पनि निर्देश दिए । प्रेस चौतारी नेपाल, बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा केन्द्रीय उपाध्यक्ष लालबाबू शेख, केन्द्रीय सल्लाहकार महेश दास, पूर्वउपाध्यक्ष श्रीधर पौडेल, केन्द्रीय सदस्यहरू केसी लामिछाने, अच्युत पौडेल, कमल उपाध्याय, प्रकाश लम्साल, प्रकाश दाहाल, प्रेस चौतारी, पर्साका अध्यक्ष श्याम बन्जारालगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रुद्र धितालले स्वागत र पुष्पराज खतिवडाले सहजीकरण गरेका थिए ।
यसैबीच, अधिवेशनले भण्डारीकै अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरेको छ । गठित कार्यसमितिको उपाध्यक्ष राधेश्याम पटेल, निलिशा वर्मा, सचिव अनिल तिवारी, सहसचिव अनिल तिवारी, सहसचिव इन्दीप कोइराला, कोषाध्यक्ष थानेश्वर सापकोटा, सदस्यहरू श्याम गुप्ता, मीनाक्षी चौधरी, दुश्यन्त चौधरीलगायत रहेको चौतारीका उपाध्यक्ष एवं प्रदेश इन्चार्ज शेखले घोषणा गरेका थिए । यसैगरी, माघ २२ गते पोखरामा हुने महाधिवेशनका लागि गोकुल घोरसाइने, पुष्पराज खतिवडा, लक्ष्मी साह र मनीता पाण्डे प्रतिनिधि चयन भएका छन् ।
सोहि अवसरमा वीरेन्द्र साह स्मृति पुरस्कार(नगद ५ हजार)को पुरस्कार २२ वर्ष देखि बाराबाट पत्रकारिता गर्दै आएका शम्भू महतोलाई प्रदान गरिएको थियो ।