नयाँ दिल्ली, १५ पुस/एएनआई
भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधवार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरूमध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।
यसैसँगै भारतमा कुल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या ८२ हजार ४०२ जना रहेका छन् । अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या कुल सङ्क्रमित सङ्ख्याको ०.२४ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ४८६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनामा कोरोना सङ्क्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबैभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना शुरू भएदेखि हालसम्म ६७ करोड ६४ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४३ करोड १६ लाखभन्दा बढी मात्रा खोप लगाइएको जनाइएको छ ।
कोरोना बढेपछि मुम्बईमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध
मुम्बई/सिन्ह्वा
मुम्बईमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बईमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरूमा हुने विविध कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको बताइएको छ ।
भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो शहर मुम्बईमा नयाँ वर्षका कार्यक्रमहरूको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशङ्का गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरू गर्ने काममा प्रतिबन्ध लगाएको हो। राति कफ्र्यू नलगाइने तर पनि मानिसहरू जमघट हुने र समारोहहरू गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।
यहाँ पनि पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरू बढेका पाइएको छ । गत हप्ता मात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुर्ई हजारजना सङ्क्रमित भेटिएका छन् ।