काठमाडौं, १५ पुस/रासस

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिस्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिस्टम ह्याक गर्ने चेतावनी आएको बैंकले जनाएको छ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकका सबै सिस्टम बन्द गरिएको जानकारी दिए । उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिस्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिस्टम खोल्ने तयारी गरिएको छ ।

धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन भइरहेको बैंकले जनाएको छ ।
बैंकले आफ्नो फेसबूक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिस्टम बन्द रहेको जनाएको छ । धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ ।

कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिए । “हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौं, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन,” उनले भने । यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई समेत सिस्टम ह्याक गर्ने धम्की आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here