प्रस, जनकपुरधाम, १४ पुस/
पर्साका दुईवटा पालिकासहित प्रदेश नं २ का २० वटा स्थानीय तहले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहमध्ये वाग्मतीका एक र प्रदेश २ का २० गरी कुल २१ वटा स्थानीय तहले बजेट पेस नगरेको जनाएको छ ।
प्रदेश नं २ मा १३६ स्थानीय तहमध्ये ११६ स्थानीय तहले मात्र बजेट पेस गरेका छन् । मन्त्रालयमा हालसम्म बजेट पेस नगर्नेमा पर्साको पोखरिया नगरपालिका र धोबिनी गाउँपालिका छन् भने धनुषाको जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
त्यस्तै, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका र पर्सा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट पेस गरेका छैनन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिराहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, नरहा गाउँपालिका साथै रौतहटको गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका तथा बाराको सिम्रौनगढ नगरपालिका र विश्रामपुर गाउँपालिकाले हालसम्म बजेट पेस नगरेको मन्त्रालयले जनाएको छ।
उक्त पालिकाहरूमा जनप्रतिनिधिबीचको आपसी विवादका कारण बजेट पेस गर्न नसकेको बताइएको छ । सोमध्ये सप्तरीको छिन्नमस्ता गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको बजेटसमेत अझै पेस गरेको छैन ।